• ८ जेठ २०८१, मङ्गलबार

सिक्दै कमाउँदै विद्यार्थी

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् । 

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालयको समन्वयमा हरेक हप्ताको शुक्रबार ताकुकोटका महिला समूहका दिदिबहिनीहरुको निःशुल्क सहयोगमा विद्यार्थीहरूलाई दुना टपरी बनाउन विद्यार्थीहरूलाई सिकाइएको हो । त्यसबाट थोरै भएपनि विद्यार्थीहरूलाई आम्दानीको स्रोत बढाउन यस्तो कार्यक्रम ल्याइएको सुर्यज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम रम्तेलले जानकारी दिनुभयो ।  

अहिले जिल्लाका कुना काप्चामा पनि जताततै प्लाष्टिकका सामानहरू भोगचलनमा आउन थालेकाले त्यसको रोकथामको लागि खेर गइरहेको सालको पातलाई प्रयोग गरी प्लाष्टिकका सामानहरूलाई विस्थापित गर्नको लागि विद्यालयका विद्यार्थीहरूलाई हरेक शुक्रबार दुना टपरी बनाउन सिकाइएको उहाँले बताउनुभयो । फुर्सदको समयलाई सदुपयोग गर्दै सीप र आम्दानी पनि राम्रो हुने भएकोले यस कार्यलाई विद्यालयले निरन्तरता दिने पनि बताइएको छ । 

जिल्लामा हुने गरेको मेला महोत्सवमा बढी यसको माग बढेको पनि पाइएको छ । प्लाष्टिकका सामानहरूले वातावरण नै प्रदूषित भइरहेको भन्दै यसलाई रोक्न विभिन्न सरकारवालाहरूले चिन्ता समेत व्यक्त गरेका छन् । 

वातावरणलाई स्वच्छ बनाउन सालको पातको महत्त्वपूर्ण भूमिका हुन्छ । अहिले विवाह व्रतबन्ध पाटी भोज भतेरमा अत्यधिक मात्रामा प्लाष्टिकका सामानहरू प्रयोगमा आएकाले त्यसलाई विस्थापित गर्न विद्यालयले विद्यार्थीहरूलाई प्रत्येक शुक्रबार ५०० सय दुना टपरी बनाएर राखिएको विद्यालयले जनाएको छ । अहिले विद्यार्थीहरूले बनाएको दुना टपरी विद्यालयमा हुने दिवा खाजा र खानाको लागि व्यवस्थापन भएको छ । अहिले जति पनि गाउँपालिका भित्र मेला महोत्सव, भोज भतेर लगाएका कार्यक्रमहरूको लागि विद्यालयले दुना टपरी व्यवस्थापन सजिलै उपलब्ध गराउन सक्ने भएको विद्यालयका प्रधानाध्यापक रम्तेलले बताउनुभयो । 

टपरीको पाँच रुपियाँ र दुनाको ४ रुपियाँको दरले बिक्री मूल्य रहेको र त्यसबाट हुने आम्दानी विद्यालयका विद्यार्थीहरूलाई उपलब्ध गराइने विद्यालयका प्रधानाध्यापक रम्तेलले जानकारी दिनुभयो ।