• ८ जेठ २०८१, मङ्गलबार

वेभ सिरिजतिरै दर्शक

blog

काठमाडौँ, वैशाख १९ गते । एउटा समय थियो, टेलिशृङ्खला हेर्न टेलिभिजनमा झुम्मिने । रामायण, महाभारत, चन्द्राकान्तालगायत सयौँ टेलिशृङ्खलाले दर्शकलाई लट्ठै पाथ्र्यो । जनैको साँचो, कालीगण्डकीको तिर, तिलहरी, मेरीबास्सै, हिजोआजका कुरा, तितोसत्य, १५ गते, १२ बजे, ख्वटाबजीलगायत थुप्रै टेलिशृङ्खलाको सम्झना टेलिभिजनका दर्शकले अझै गर्दै छन् ।

अब त्यो कथा बन्यो । बदलियो दर्शकको रुचि । प्रविधिको द्रुत विकाससँगै दर्शकको रोजाइ बनेको छ, वेभ सिरियल । सामाजिक, पारिवारिक र हास्यमिश्रित वेभ सिरिजको बाहुल्य नेपाली समाजमा छ । वेभ सिरिज अर्थात् ओटिटी (ओभर दी टप) प्लेटफर्म नेपालमा लोकप्रिय बन्दै गएको छ । नेपाली वेभ सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओटिटी माध्यम ‘आइफ्लिक्स’ मा पहिलो पटक प्रदर्शन भएको थियो । विवेक रसाइलीको निर्देशन रहेको वेभ सिरिजलाई रुकमान लिम्बूले निर्माण गर्नुभएको थियो । ‘डियर लभ’ पछि दर्जनौँ वेभ सिरिज बनिसकेका छन् । ब्रह्माण्ड, मिस स्कारलेट, लट्ठक, सानो संसार, भैरवी, कैँची, यस्तै हो लाइफ, एक्सन कट, पट्टु, आरती, परदेशी, तिम्रो ल्याङ ल्याङ, डियर लभ, निर्णय केही वेभ सिरिज हुन् जसले ओटिटीमा खासै आफ्नो प्रभुत्व जमाउनचाहिँ सकेनन् । कतिपय वेभ सिरिज त घोषणामा मात्र सीमित रहे । 

कान्तिपुर फिल्म एकेडेमीका गीत विष्टका अनुसार डिजिटल प्रविधिको विकाससँगै पछिल्लो समय वेभ सिरिज निर्माणमा तीव्रता आएको छ । मान्छे अहिले ठुलो चलचित्रभन्दा वेभ सिरिजमा नै रमाउन थालेका छन् । नेपालमा वेभ सिरिजको ट्रेन्डचाहिँ बाहिरी देशको सिकोका रूपमा सुरु भएको हो । उहाँका अनुसार वेभ सिरिज निर्माण गर्न पनि समय लाग्छ । फिल्मसम्बन्धी ज्ञान र सिप भएकालाई वेभ सिरिज बनाउन समय लाग्छ । तथापि यससम्बन्धी खासै ज्ञान नभएका तर कलाकारितामा सक्रिय कलाकारले मोबाइल र अन्य प्राविधिक उपकरणको प्रयोगमार्फत छोटो समयमा सिरिज बनाउने गर्दै आएका छन् । सिरिजको कथा, लोकेसन, क्यामरा र कलाकारको सङ्ख्याले वेभ सिरिजको खर्च निर्धारण गर्छ । एउटा वेभ सिरिज निर्माण गर्दा करिब आठदेखि नौ लाख लाग्ने उहाँको भनाइ छ । 

‘आरती’ नामक वेभ सिरिजका निर्देशक रोशन दास आफ्नो पहिलो कामबाट खासै सन्तुष्ट देखिनुहुन्न । उहाँका अनुसार सिरिज खासै चल्न नसके पनि सिरिजकै माध्यबाट अन्य काममा टेवा पुगेको छ । उहाँका अनुसार यो वेभ सिरिज बनाउँदा करिब सात लाख रुपियाँ खर्च भएको थियो । सिरिजबाट खासै पैसा उठ्न नसके पनि चलचित्र प्रायोजन गर्नेबाट केही पैसा उठेको थियो ।

अभिनेता तथा निर्माता दीपकराज गिरीले ओटिटी प्लेटफर्म चलचित्र देखाउनु नै ठुलो चुनौतीको काम भएको बताउनुहुन्छ । उहाँका अनुसार सानो बजार रहेकाले नयाँ चलचित्र पाउन र दर्शकलाई दिन सक्नु नै ओटिटीका लागि चुनौती हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार च्याउसरी उम्रिएका ओटिटीकै कारण कन्टेन्टको अभाव हुनु स्वाभाविक हो । सानो पर्दामा देखाइएको चलचित्रले केही समय राहत दिए पनि चलचित्रलाई उद्योगका रूपमा विस्तार गर्न सजिलो छैन । थोरै लगानीमा बनेका चलचित्र र सिरिजका लागि सानो पर्दा फलदायी बने पनि चलचित्रलाई उद्योगको रूपमा विस्तार गर्न यो गतिलो माध्यम होइन ।

चलचित्रमा समयाभाव र सेन्सरका कारण खुम्चिने कथालाई सिरिजमा स्वतन्त्रतापूर्वक निर्माताले पस्कँदै आएका छन् । जसलाई दर्शकले मन पनि पराए । कथा बुनिएको र तयार गरिएको सेटअप अनुसार पात्र चित्रित हुँदा दर्शकले उक्त सिरिजलाई महसुस गरे । यही कारण दर्शक माझ सिरिजको आकर्षण बढ्न थालेको समीक्षकको भनाइ छ । 

‘नेटफ्लिक्स’, ‘अमेजोन प्राइम’ लगायत ओटिटी माध्यम अन्तर्राष्ट्रिय बजारमा आएपछि नेपालमा पनि वेभ सिरिजका दर्शक बढेका हुन् । दक्षिण एसियाली देशमा फैलिएको ‘आइफ्लिक्स’ अहिले नेपालमा सक्रिय छैन । नेपालकै ‘चलचित्र घर’ नामक प्लेटफर्म पनि बन्द भएको छ । हाल नेपालमा ‘सिनेमा घर’, ‘फोपी’, ‘भिडियो पसल’, ‘नेट टिभी’ लगायत ओटिटी प्लेटफर्म सक्रिय छन् ।