• ९ जेठ २०८१, बुधबार

‘कतारी फुडको व्यवस्थापनले पर्यटक भित्र्याउन सकिन्छ’

blog

काठमाडौं, वैशाख १८ गते । कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले कतारी नागरिकको छनोटअनुसार खानपिनको व्यवस्था मिलाउन सके नेपालमा कतारी पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कतारी राजा अमिर शेख विन हमाद अल थानीको हालै सम्पन्न नेपाल भ्रमणको विषयमा केन्द्रित भएर कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

कतारी राजाको नेपाल भ्रमणले त्यहाँका नागरिक पनि उत्साहित भएको उहाँको बुझाइ छ । कतारबाट पहिलो पटक यस तहको नेपाल भ्रमण भएकाले कतारी नागरिकमा पनि नेपालप्रति चासो बढेको राजदूत ढकालले विश्वास व्यक्त गर्नुभयो ।

“कतारी नागरिकले मासुका परिकार बढी मन पराउँछन्, तर हलाल गरिएको मासु मात्र खान्छन् । त्यसअनुरुपको खाना परिकार व्यवस्थापन गर्न सके नेपालमा कतारी पर्यटक वृद्धि गर्न सकिन्छ,” उहाँले भन्नुभयो । नेपाल प्राकृतिक रुपमा सुन्दर मुलुक भएकाले यहाँको वातावरण कतारी नागरिकलाई मन पर्ने विश्वास राजदूत ढकालले गर्नुभयो ।

कतारमा अहिले तीन लाख ६४ हजार ४८९ नेपाली श्रमिक विभिन्न क्षेत्रमा रोजगारी गरिरहनुभएको चर्चा गर्नुहुँदै राजदूत ढकालले भन्नुभयो, “दक्ष जनशक्ति हामीले निर्यात गर्न सकेका छैनौं, आगामी दिनमा दक्ष जनशक्ति निर्माण गरी त्यहाँको ऐन कानुन र नियमबारे समेत प्रशिक्षण दिएर जनशक्ति पठाउनुपर्छ । त्यहाँको अवस्थाबारे जानकारी नहुँदा कतिपय नेपाली श्रमिक सजायको भागेदार भइरहनुभएको छ ।”

दुई दिने नेपाल भ्रमणका क्रममा कतार र नेपाल सरकारबिच केही महत्त्वपूर्ण सहमति भएको उल्लेख गर्नुहुँदै उहाँले सहमति र समझदारीसँगै त्यसको कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुने बताउनुभयो । सहमतिअनुसारको प्याकेज बनाएर समयमा योजना बनाएर समन्वय गर्न सक्नुपर्ने उहाँको सुझाव छ । नेपालमा लगानी गर्ने सन्दर्भमा ठोस सहमति बन्न नसके पनि आगामी दिनमा त्यसका लागि प्रयास हुने उहाँको भनाइ छ ।  

कतारका अमिर शेखको नेपाल भ्रमणले दुई देशबिच सम्बन्ध थप प्रगाढ बनेको र एक अर्काप्रति विश्वास सुदृढ बनेकाले आगामी दिनमा दुई देशबिच सहयोग आदान प्रदानमा वृद्धि हुने विश्वास उहाँले गर्नुभयो । कञ्चनपुरका विपिन जोशीलाई हमासको पकडबाट मुक्त गराउन कतारको तर्फबाट प्रयास गर्ने प्रतिवद्धता अमिर शेखले पनि गर्नुभएकाले सकारात्क परिणाम आउनेमा आफू आशावादी भएको राजदूत ढकालले बताउनुभयो ।

कतारमा लेबर कानुन राम्रो भएकाले आउने दिनमा श्रमिकको पारिश्रमिकमा पनि पुनरावलोकन हुने राजदूत ढकालले बताउनुभयो । त्यसका लागि कानुनमै परिमार्जन गर्नुपर्ने बताउँदै उहाँले अमिर शेख सकारात्मक रहनुभएको चर्चा गर्नुभयो ।महिलालाई घरमा काम गर्न राख्न निषेध रहेकाले कतारमा महिला जनशक्तिलाई घरेलु काममा लगाउन नमिल्ने उहाँले बताउनुभयो । यद्यपि महिलाको सुरक्षा र सम्मानमा कतारको कानुन उदार रहेको बताउनुभयो ।

कतारका अमिर शेखको भ्रमणले नेपालप्रति कतारी जनताको दृष्टिकोण सकारात्मक बनेकाले मिडियाले पनि त्यसमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको सुझाव छ । नकारात्मक समाचार दिनुभन्दा दुई देशबिचको सम्बन्ध सुधार गरी लगानी बढाउनेतर्फ केन्द्रित समाचार आउन सके त्यसले नेपालको समृद्धिमा कतारको सहयोग बढ्ने उहाँको भनाइ छ ।

भिडियोमा मनोजरत्न शाही र केशब गुरुङ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।