वसन्तको आगमनसँगै रुख बिरुवामा नयाँ पातहरू पलाए । सबैतिर नयाँ पालुवा टुसाए । फूलहरूले मिठो सुवास छर्न लागे । वसन्त अर्थात् चैत वैशाखका दिन सुरु भएपछि कोइलीको स्वर गुन्जिन थाल्यो । नयाँपन र नयाँ सिर्जना नै वसन्तको अर्को नाम हो कि !
प्रकृतिमा मात्र होइन, मानव जीवनमा समेत यस समयले सिर्जनशीलता थप्दछ । वसन्तश्रावणी अर्थात् श्रीपञ्चमीबाट बालबालिकाले शिक्षा आरम्भ गर्ने परम्परा हामीकहाँ छ । नयाँ वर्षको आगमनसँगै विद्यार्थी नयाँ कक्षामा प्रवेश गर्ने ढोका खुल्छ । नयाँ ढोका खुल्नुको तात्पर्य नयाँ संसारमा प्रवेश गर्नु पनि हो । नयाँ ठाउँमा जाँदा नौलो वातावरण कस्तो होला भन्ने खुलदुली जाग्नु स्वाभाविकै हो । यसैले त नयाँ भन्नासाथ हामीलाई कता कता रमाइलो अनि अप्ठ्यारो पनि लाग्छ ।
उही विद्यालय भए पनि नयाँ कोठा, नयाँ शिक्षक, नयाँ पाठ्यपुस्तक र नयाँ परिवेश अवश्य पनि यी चिजले हामीमा नयाँपन थप्ने छन् । नयाँ वर्षका नयाँ दिनसँगै नयाँ कक्षामा प्रवेश गरेका विद्यार्थीको मनोभावनालाई कतैबाट पनि कुण्ठित गरिनु हुँदैन । उनीहरूको उत्साह, आकाङ्क्षालाई अनावश्यक पाठ्यपुस्तकका बोझले थिच्नु हुँदैन । खुसी हुँदै विद्यालय जाने वातावरण निर्माण गरिनु पर्दछ अनि गरुङ्गो स्कुल ब्यागको भारी कतिखेर बिसाउने होला भन्ने तनाव बच्चामा सिर्जना हुनु हुँदैन ।
नयाँ कुरासँगै आउने चुनौती सामना गर्नु नै वास्तवमा प्रगतिको सूचक पनि हो । अघिल्लो वर्ष राम्रो पढाइ गरेकालाई यो वर्ष राम्रो नै हुने भयो । अपेक्षा गरे अनुरूप प्रगति गर्न नसकेका विद्यार्थीले पनि अब नयाँ ढङ्गबाट अगाडि बढ्ने समय आएको छ । सिकाइभित्र रमाइ पनि हुनु पर्छ । रमाउँदै सिकेको कुरा लामो समयसम्म रहन्छ । यसैले व्यवहारमा आवश्यक पर्ने सिकाइ रमाइलो किसिमबाट हुनु पर्दछ । हामीले रमाउँदै सिक्ने कुरालाई निरन्तरता दिनु पर्दछ । यसका लागि सिकारुलाई सबैबाट हौसला, माया र उत्प्रेरणा आवश्यक पर्दछ ।
बालबालिकाको खुसीमा अभिभावकको साथ चाहिन्छ । वास्तवमा विद्यार्थीको प्रगतिबाट अभिभावकमा र अभिभावकको ममताबाट विद्यार्थीमा खुसी बढ्छ । मान्छे खुसी हुनका लागि उसका इच्छा र चाहना पूरा हुनु पर्दछ । विद्यार्थीको वास्तविक अवस्थालाई नबुझी उसबाट ठुलो अपेक्षा राखेमा अभिभावकलाई बेखुसी बनाउन सक्छ । यसैले नयाँ वर्षमा हाम्रा बालबालिकालाई उनीहरू जे हुन् त्यही रूपमा स्वीकार गर्ने प्रवृत्तिको विकास गरौँ । बालबालिकाको वास्तविकता बुझेर उनीहरूबाट सुहाउँदो कुराको मात्र अपेक्षा गरौँ ।
नयाँ उमङ्ग लिएर आएका विद्यार्थीलाई कक्षाकोठामा अझै उमङ्गित हुने वातावरण सिर्जना गरिनु पर्दछ । विगतमा भएका गल्ती, त्रुटि वा सिकाइमा देखा परेका कमीकमजोरीलाई बिर्संदै तिनबाट पाठ सिक्ने बानी बसाल्नु पर्दछ । पुराना कुरा मात्र मनमा लिएर बस्यौँ भने हामी नयाँ काम गर्नै सक्दैनौँ । असफलताका कथा मात्र मनमा राख्यौँ भने आत्मबल बढ्दैन । आत्मबल, आत्मविश्वास र उत्साहलाई मर्न नदिई सधैँ नयाँ कुरा सिक्न खोज्ने विद्यार्थीले नै जीवनमा सफलता प्राप्त गर्छ ।
विद्यालय जानुभन्दा अगाडि नै उनीहरूका हातमा नयाँ पाठ्यपुस्तक पर्दा पढ्ने र सिक्ने जाँगर झनै बढ्न थाल्दछ । नयाँ किताबका नयाँ कुरा, नयाँ अनुभव र अनुभूति अभिव्यक्त गर्न पाउँदा बालबालिकाको मनोसामाजिक स्वास्थ्य बलियो बन्छ । त्यसैले गुरु, गुरुआमाले पनि व्यक्ति जति खेर पनि परिवर्तन हुन सक्छ भन्ने कुरालाई ध्यान दिनै पर्दछ । अघिल्लो कक्षामा फलानो विद्यार्थी त यस्तो थियो उस्तो थियो भनेर एउटै धारणा बनाउनु हुँदैन । हिजो नसिक्ने विद्यार्थी आज राम्रो सिकारु बनेको हुन सक्छ । हिजो चकचक गरेको भए पनि आज शान्त स्वभावकोे हुन सक्छ । बाल सुलभ गुण बोकेका उनीहरू आखिर बाल्यकालबाटै त गुज्रँदै जाने हो ।
कुनै समय कुनै व्यक्तिले गल्ती गर्यो भने ऊ सधैँका लागि दोषी भइरहनु हुँदैन । आखिर सिकाइको सामान्य नियम भनेकै गल्ती र ज्ञान न हो । यसलाई त्रुटि र प्रयास पनि भन्ने गरिन्छ । त्रुटि हुन्छ कि भनेर डराउँदै बस्ने हो भने सिकाइको क्रम नै रोकिन्छ । यसैले गल्ती गर्दै सिक्ने क्रमलाई निरन्तरता दिनु नै वास्तविक सिकाइ हो ।
अनुशासन, सुसंस्कार र जीवनोपयोगी सिपको विकास गर्न सबैको सकारात्मक र पे्ररणादायी भूमिका हुनु पर्दछ । वास्तवमा पारिवारिक मूल्य, सामाजिक महìव र व्यावहारिक पक्षको सिकाइ निरन्तर भइरहनु पर्दछ । यो जीवनभर चलिरहने प्रक्रिया पनि हो । खुसी हुँदै र रमाउँदै सिक्ने क्रमलाई निरन्तरता दिन सके जीवन सुखद बन्ने छ । यसैले बालबालिकाको उत्साह र उमङ्गलाई उच्च शिखरमा पु¥याउनका लागि अभिभावक, शिक्षक, विद्यालय र समाजका हरेक सदस्यले बालभावना अनुकूलका क्रियाकलाप गर्नु आवश्यक छ । भोलिका कर्णधार बालबालिकाको समुज्ज्वल भविष्यका लागि हामी सबैले सहयोग गर्नु पर्दछ ।