• २७ वैशाख २०८१, बिहिबार

जलजलाका २५ विद्यालयको तह समायोजन

blog

जलजला गाउँपालिकाको कार्यालय । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख १५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । 

गाउँपालिका भित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ वटा विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको हो । त्यसमध्ये तीन वटा विद्यालय भने पुरै कक्षा नै समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको जनाएको छ । 

यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी सङ्ख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन (घटुवा) गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । 

विद्यार्थी सङ्ख्या न्यून भएका जलजला गाउँपालिका–२ मा रहेको सिद्धबाबा प्राविको कक्षा एकभन्दा माथिको कक्षा, वडा नम्बर ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिको कक्षा, वडा नम्बर ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नम्बर ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षाहरू शिव माविमा समायोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यस्तै वडा नम्बर १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योति मण्डल माविमा, वडा नम्बर २ को दिनकल्याण प्राविको १ भन्दा माथिको कक्षालाई समाज कल्याण प्राविमा, विन्दवासिनी प्राविको ३ भन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नम्बर ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडा नम्बर ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नम्बर ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिको कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिको कक्षालाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षाहरूलाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ । 

वडा नम्बर ५ को पञ्चमूल प्राविको तीन भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको तीन भन्दा माथिको कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नम्बर ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षा भन्दा माथिको कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ भन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो । 

वडा नम्बर ७ को भूमे प्राविको तीन भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिको कक्षा, सरस्वती प्राविका एक भन्दा माथिका कक्षा र देउराली प्राविका तीन भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ । 

। सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नम्बर ८ को जन जागृति प्राविको एक कक्षा भन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ । 

समायोजन गरिएका विद्यालयका कक्षाहरूमा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिका अध्यक्ष आचार्यले भन्नुभयो, ‘‘अहिलेलाई कक्षा समायोजन मात्र गरिएको छ । भोलिका दिनहरूमा विद्यार्थी सङ्ख्या बढेमा समायोजन निर्णय फिर्ता हुने छ भने विद्यार्थी सङ्ख्या अझै घटेमा पुरै विद्यालय नै समायोजन गरिने छ ।’’ विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूको हाललाई अस्थायी रूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको अध्यक्ष आचार्यको भनाई छ । 

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकलाई विद्यालय विकास प्रस्ताव माग गरी त्यसको मूल्याङ्कनका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने तयारी गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।