• २७ वैशाख २०८१, बिहिबार

निःशुल्क हेल्थ डेस्कबाट २९ सयभन्दा बढीले लिए सेवा

blog

धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको निःशुल्क हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्दै भक्तजन । तस्बिर : निशा राई

निशा राई
धरान, वैशाख १५ गते ।
 नेपाली कांग्रेस, सुनसरी–१ क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा २९ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । १२ वर्षमा लाग्ने महाकुम्भ मेलामा आउने तीर्थालु तथा दर्शनार्थी भक्तजनहरूका स्वास्थ्यलाई मध्यनजर गर्दै कांग्रेसले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार गत चैत्र २७ गतेदेखि सुरु गरिएको हेल्थ डेस्कमा वैशाख १४ गतेसम्म २९ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन्  । उहाँका अनुसार हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनका साथै आवश्यकताअनुसार ग्यास्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरू वितरण गर्ने गरिएको छ । स्वास्थ्य सम्बन्धी जनचेतनामूलक पर्चा वितरण गर्ने गरिएको तथा चोटपटक लागेमा ड्रेसिङको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा लिन आउने भक्तजनहरू अधिकांशलाई प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरू सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो ।

हेल्थ डेस्कमा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल परिवार नियोजन सङ्घ सुनसरी, विजयपुर अस्पताल लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेको सभापति तामाङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा लिनेमा ७० प्रतिशतको ब्लड प्रेसर उच्च पाइएको छ ।

हेल्थ डेस्क सञ्चालनको व्यवस्थापकीय सहयोगमा नेपाली कांग्रेसको प्रदेशसभा १(१), १(२), नगर र १४ नं. वडा तथा नेपाल महिला सङ्घको क्षेत्र, प्रदेशसभा १(१), १(२) र नगर समिति रहेका छन् । त्यसैगरी सहयोगमा पिण्डेश्वार बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक रहेका छन् ।