• ७ मंसिर २०८१, शुक्रबार

लौरो (कविता)

blog

 विश्वासहरू सङ्कुचित छन्

मान्छेहरू विश्वास गर्दैनन्

लौरोका आदिम लौराहरू 

ज्ञानेन्द्रीयहरू भौतिकतामा बाँधिएका छन्

भौतिक ज्ञानेन्द्रीयहरूले थाहा पाउदैनन्

लौराभित्रका लौराहरू

शरीर तन्दुस्त हुँदा

शरीरका अङ्गहरू चलायमान रहँदा

कुनै लौरोका मूल्यहरू स्विकार्दैनन् 

लौरोलाई लौरो मान्दैनन्

कसैको सिद्धान्तहरू स्विकार्दैनन्

आफ्नोपनको डम्फू बजाउँछन्

कसैका आदर्शहरू स्विकार्दैनन्

आफ्नै अभियानको मादल घन्काउछन्

चोक चोकका डान्सबारमा

आडम्बरको एक गीत गाउँछन्

र एकल ताण्डव नृत्य नाच्छन् ।

समयको सप्तकोशीमा बग्दा बग्दै

त्यस क्षणमा आइपुग्छन् मान्छेहरू 

समयको घण्टाघरको घण्टी बज्छ

र ब्युझ्छन् समयकै निद्राबाट मान्छेहरू

जिन्दगीको बाइरोडको

त्यस मोडमा आइपुग्छन्

र थाहा पाउँछन् जीवन इन्जिनको मूल्य

मान्छेहरू यथार्थको काँडामाथि टेक्छन्

र थाहा पाउँछन् लौरोका मूल्यहरू

अनि स्विकार्छन् लौरोका आदर्शहरू ।

हिजोसम्म थाहा थिएन

लौरोको मूल्य कति हो भनेर 

किनकि बाल्यवस्थामा घोकाइएन 

पाठशालाहरूमा लौरोका मूल्यहरू 

हिजोसम्म पनि पत्तो भएन

लौरोको पनि मूल्य हुन्छ भनेर 

किनकि युवावस्थामा पनि पढाइएन 

विश्वविद्यालयमा लौरोका सिद्धान्तहरू ।

समयले सिकाउनु पर्छ

जिन्दगी लौरो हो भनेर

जिन्दगीले सिकाउनु पर्छ

लौरो पनि जिन्दगी हो भनेर 

जब जब मान्छेलाई सहारा चाहिन्छ

तब तब लौरोको महत्व महसुस हुन्छ

लौरोको पनि उच्च मूल्य छ 

लौरोको पनि शाश्वत सिद्धान्त छ

अनि निर्जीव लौरोको पनि सजीव आदर्श छ ।  

Author

अमरदीप सुनुवार