इतिहासका पानाहरू पल्टाएर हेर्दा कैयौँ नेपाली सपुतले रगत पसिना बगाएर देशको सेवा गरेको पाइन्छ । उनीहरूको योगदानको जति गाथा गाए पनि पुग्दैन । यस्तै वीरहरूमध्ये एक हुन्, सरदार प्रबल राना मगर । उनी एकबहादुर सैन्य व्यक्तित्व थिए । उनी बहादुर शाहको नायबी र गीर्वाणयुद्धविक्रम शाहको समयमा एक महत्वपूर्ण योद्धाका रूपमा विभिन्न मोर्चामा सक्रिय पाएको इतिहास पाइन्छ ।
नेपाल राज्य विस्तारका क्रममा जुम्ला कब्जा गर्न जाँदा सरदार प्रबल राना शिवनारायण खत्रीका साथ सक्रिय थिए । यो अभियानमा पहाडको बाटोबाट जाँदा जाजरकोट, विलासपुर, दुल्लुका रियासतले छेक्ने सम्भावना थियो । त्यसैले उनीहरूले हिमाली क्षेत्रको विकट बाटो पक्रेर दुई कम्पनी सैनिक जुम्ला उतारेका थिए । तिव्रीकोटमा यिनीहरू केही दिन अडिँदा जुम्लाको राजधानी छिनासिममा जुम्लीहरूको ठुलो सङ्ख्यामा झाराका सैनिक जम्मा भएका थिए तर तत्कालै दसैँ परेकाले यिनीहरूको फौजको सङ्ख्या घट्दै गएपछि चार दिनको बाटो गरेर छिनासिममा आव्रmमण गर्दा त्यहाँका राजा चव्रmसुदर्शन शाही र उनका काका शोभन शाही हुम्लातिर भागे । (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ६१–फागुन २०४१ः२५) यसरी विसंं १८४४ असोजको महानवमीमा जुम्लालाई नेपालमा गाभ्दा एक मगर सैनिक सरदार प्रबल रानाले पनि सेनानायकत्व गरेको देखिन्छ ।
अर्को भीषण युद्धमा बहादुरी
सरदार प्रबल रानाले नेपालको तिब्बत र चीनसँग भएको दुई युद्धमा भाग लिएर ठुलो बहादुरी देखाएका थिए । तिब्बतसँग भएको पहिलो युद्धमा नेपाली सेनाले केरुङ र कुती कब्जा गर्दा उनी केरुङ कब्जा गर्ने नेपाली सैन्य समूहमा सम्मिलित थिए ।
कान्तिपुरको आर्थिक स्थिति दयनीय बन्न पुग्दा राजा जयप्रकाश मल्लले कसर मिसाइएको चाँदीको सिक्का तिब्बतमा चलाइदिएका थिए । पछि यहीँ विषयमा तिब्बत र नेपालबिच वैमनस्य उत्पन्न भयो । यसले युद्धकै रूप लियो । दुई देशबिचको यस्तो अवस्थामा नेपाली सेनानायक आफ्ना फौज लिएर तिब्बतको केरुङ तथा कुती क्षेत्रतिर बढे ।
तीमध्ये काजी कीर्तिमानसिंह बस्नेतले केरुङतर्फ जाने सैन्यदलको नेतृत्व गरेका थिए । यस सैन्यदलमा कप्तान जहरसिंह बस्नेत, कप्तान भोटु पाँडे, सरदार अमरसिंह थापाका साथ सरदार प्रबल राना सम्मिलित थिए । यो सैन्य दलले आफ्नो सैन्य अभियानका क्रममा विसं १९४५ साउन ११ गते केरुङ प्रदेशलाई आफ्नो कब्जामा लिन सफल भएको थियो । चौतरिया श्रीकृष्ण शाहको सैन्य नेतृत्वमा कुती जाने सैन्यदलले विसं १९४५ साउन १० गते कुति कब्जा गरेको थियो ।
अन्ततः तिब्बत नेपालसँग शान्ति सम्झौता गरी वार्षिक रूपमा हर्जना तिर्न सहमत भयो । विसं १८४६ साउन ७ गते केरुङमा भएको सम्झौता अनुसार तिब्बतले नेपाललाई वार्षिक ५० हजार एक रुपियाँ हर्जाना बुझाउनुपर्ने भयो । उसले केही समयपछि नै पहिलो वर्षको किस्ता काठमाडौँ ल्याएर बुझायो (बाबुराम आचार्य, चीन, तिब्बत र नेपाल २०५९ः१३८) ।
तर अर्को वर्ष अर्थात् विसं १८४८ को साउनदेखि पूर्व सम्झौता अनुसार तिब्बतले उक्त रकम बुझाउन आनीकानी गर्न थाल्यो (आचार्य, २०५९:१४७) । तिब्बतीहरूको यस्तो असहयोगका कारण नेपाल सरकारको तर्फबाट ढालिएको चाँदीको नयाँ मोहर र सुकीहरू तिब्बतमा प्रचलनमा आउन सकिरहेको थिएन । अर्कोतर्फ तिब्बतबाट स्याहृमर्पा लामा नेपालमा शरण पर्न आएकाले पनि तिब्बत र चीनसँग नेपालको खटपट भइरहेको थियो । नेपाली सेनाले दिगर्चासम्म पुगेर आफूहरूलाई प्राप्त हुनुपर्ने हर्जाना माग गरिरहेका थिए ।
दुई पक्षबिच वार्ता पनि चलिरहेको थियो । तिब्बती वार्ताकारहरूको निम्तोमा नेपाली वार्ताकारहरू चौतरिया बम शाह, काजी दामोदर पाँडे, टक्सारी नरसिंहका साथ सरदार प्रबल राना पनि वार्तामा सहभागी थिए । उनीहरू आफ्नो सुरक्षाका लागि आआफ्नो नेतृत्त्वको केही सैनिकलाई साथमा लिई पूरा तयारीका साथ कुतीभन्दा एक बास जति वर नेपाली भूभागमा नै रहेको छोस्याङ नामक बस्तीमा पुगेका थिए तर तिब्बती पक्षले नेपालमा शरण लिइरहेका स्याहृमर्पा लामालाई आफूहरूसमक्ष बुझाउनुपर्ने माग गरिरहेका थिए ।
उनीहरू स्याहृमर्पा लामालाई पक्राउ गर्न चाहन्थे । वार्ता सहमतिमा आउन सकिरहेको थिएन । त्यसपछि त्यहाँ गएका नेपाली वार्ता दलका सदस्यले तिब्बती वार्ता दलका सदस्यलाई घेरा हाली पक्रिएर केही दिनभित्रै नेपालको राजधानी काठमाडौँमा दाखिल गरिदिए । त्यसपछि नेपाल र तिब्बतबिच युद्ध हुने अवस्था सिर्जना हुन पुग्यो (आचार्य, २०५९ः१४९–५०) ।
यो युद्धमा तिब्बतलाई साथ दिन चीन पनि युद्धमा ओर्लियो । युद्धकै क्रममा नेपाली सैन्य दल केरुङबाट अगाडि बढी तिब्बतको किल्ला आक्रमण गर्ने उद्देश्यका साथ काजी अभिमानसिंह बस्नेत र सरदार रणजित मल्ल झुँगा पुगे । विसं १८४८ भदौ २६ गते त्यहाँ आक्रमण गर्दा उनीहरू हार खाएर केराउबारीमा आएर बस्न बाध्य भए (आचार्य, २०५९ः१५१) ।
त्यसपछि ठुलो सङ्ख्यामा आएको चिनियाँ सेनाले नेपाली सैनिकलाई दपेटा दिन सुरु ग¥यो । यस्तो समाचार आएपछि उनीहरूलाई सहयोग गर्न कप्तान रणकेशर पाँडे, सुवेदार भास्कर राना, सुवेदार गजदल शाहीका साथ सरदार प्रबल राना काठमाडौँबाट केरुङतर्फ गएका थिए । प्रबल रानाहरू केरुङतर्फ जाँदै गर्दा उनीहरू स्याफ्रुबुेसी मात्र के पुगेका थिए, रसुवागढीबाट पछाडि हटेको नेपाली सैन्य दल पनि त्यहीँ आएर बसेको थियो ।
भोटेकोशीमाथि लगाइएको साँघु कब्जा गरी वारितिर नेपाली सैन्य दल बसिरहेको थियो । चिनियाँ र तिब्बती सैन्य दल चाहिँ खोला तर्न नसकी पारि बसिरहेका थिए । भर्खरै त्यहाँ पुगेका प्रबल रानालगायतका सेनानायकहरूले स्याफ्रुगाउँको सुरक्षाको प्रबन्ध गर्न थाले तर चिनियाँ सेना खोला तरेर वारि आउन थालेपछि नेपाली सैन्य दल पछि हट्दै जान बाध्य भयो । उनीहरू धुन्चे डाँडामाथि उक्ले (आचार्य, २०५९ः१६३) ।
तर अत्यधिक सङ्ख्यामा रहेको चिनियाँ सैनिक दल धुन्चेमै उक्लिएपछि त्यहाँ पनि नेपाली सेनालाई टिक्न गाह्रो भयो । त्यहाँ नेपाली दुई सुवेदार गजदल शाही र भास्कर रानासहित ४०÷५० जना सेना मारिए । त्यसपछि नेपाली सेना पछि हट्दै आउन विवश भयो । तिब्बती र चिनियाँहरूको यस्तो आक्रमणले राजधानी काठमाडौँमा ठुलो त्रास फैलिरहेको थियो (आचार्य, २०५९ः१६४) ।
दुवै पक्षबिच शान्ति सम्झौता गर्ने कुरा पनि चलिरहेको थियो तर युद्ध रोकिने छाँटकाँट देखिइरहेको थिएन । चिनियाँ सेना नुवाकोट आउन चाहन्थ्यो । उनीहरूको लक्ष्य काठमाडौँ थियो । यो युद्धमा चिनियाँ सेनालाई रोक्न तत्कालीन नायब राजकुमार बहादुर शाह स्वयम् नुवाकोट दरबार पुगेर युद्ध सञ्चालन गरिरहेका थिए ।
नुवाकोटमा चिनियाँ सेनालाई रोक्न विभिन्न तीन मुख्य ठाउँमा नेपाली सेनालाई तैनाथ गर्ने क्रममा काजी दामोदर पाँडेको नेतृत्वमा एउटा सैन्य दल नुवाकोट र बेत्रावती नदीको बिचमा पर्ने चोक्देमा तैनाथ थियो । यसै समूहमा काजी दामोदर पाँडेका साथ प्रबल राना पनि सहभागी थिए (आचार्य, २०५९:१७२) । नेपाली सेनाले बेत्रावतीमा चिनियाँ सेनाको ठुलो संहार गरायो । अन्ततः चिनियाँ सेना नेपालसँग सन्धि गर्न बाध्य भयो । यसरी सरदार प्रबल रानाले एकबहादुर नेपाली सेनाका रूपमा ठुलो पराक्रम देखाएका थिए ।
फलामको पिँजडामा कैद
यसरी नेपाली बहादुरहरू दिनरात नभनी युद्ध मोर्चामा खटिरहेकै थिए, अर्कातिर तत्कालीन राजा रणबहादुर शाहको शैली र व्यवहार भने मनमौजी थियो ।
आफ्नी प्यारी रानी कान्तवतीको क्षयरोगका कारण अल्पायुमै निधन भएपछि स्वामी महाराज रणबहादुर शाहको मनस्थिति ठेगानमा रहेन । उनले अनेकौँ उपद्रो मच्चाउन थाले । कान्तवतीको उपचारमा संलग्न वैद्यहरूलाई सजाय दिनेदेखि देवालय तोडफोड गर्ने अनेकौँ हर्कत गर्न थालेका थिए ।
विसं १८५६ कात्तिक १९ गते कान्तवतीको निधन भएपछि उनले रानीको चोलो च्यापेर आफू पनि चितामा सती भएर मर्छु भन्दै रुनेदेखि कहिले बन्दुकको गोलीले हानेर मर्छु भन्नेसम्मको बिलौना गरे । यस्तै उनले देवी देवतामाथि पनि आक्रोश पोखे । उनी पशुपतिलाई नै फोर्न पनि तम्से । तुलजादेवीको मूर्ति उखेलेर श्मशानघाटमा फाल्न लगाउनेदेखि स्वयम्भूको हारती मातालाई गुहुको धूप दिन लगाई उखेलेर फाल्न लगाउनेसम्मको काम गरे ।
कान्तवतीको विषयमा जोखाना हेर्ने साँढे वैद्य लक्ष्मीनारायण दाहाललाई मानिसका मासु, गाईको मासु, गुहु, जाँड खुवाई चारपाटा मुडेर आँखामा सिउँढीको दुध हाली देश निकाला गर्नुका साथै उनकी श्रीमतीलाई दमाईलाई सुम्पेर घिस्याउन लगाउनेसम्मको निकृष्ट काम रणबहादुरले शाहले गरे । (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२:४१)
स्वामी महाराजको यस्तो चर्तिकलाले राजदरबारको गतिविधिमा ठुलो समस्या उत्पन्न हुने अवस्था देखा परिरहेको थियो । त्यसैले सिकारको बहाना गरी नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई रानी सुवर्णप्रभाका साथ नुवाकोट लगेर राखियो । जेठी रानी राजराजेश्वरी रणबहादुर शाहको रेखदेखमा थिइन् । बिच बिचमा जेठी रानीका साथ रणबहादुर शाह नुवाकोट पुग्थे ।
त्यहाँ जाने क्रममा एकपल्ट उनले आफ्ना छोरालाई आफूसँग अलग्याएर राखे भन्ने रिस देखाउँदै धामी काम जस्तो काम्दै नुवाकोटमा नाबालक राजाका साथ रहेका भारदारहरूलाई अमानवीय यातना दिलाउँदै बेइज्जतिसमेत गरे । उनले त्यहाँ अमरसिंह थापा र रणबम पाँडेलाई खुट्टामा बाँधेर झुन्ड्याइदिए, परशुराम थापालाई स्वास्नीको सारी चोलो पहि¥याएर बजार परिक्रमा गराए । यस्तो बेइज्जति गरिनेमा सरदार प्रबल राना पनि थिए । उनलाई छालामा बसाएर बजारबिचमा घिसार्न लगाइएको थियो (नेपाल, २०५२:४२) ।
रणबहादुर शाह विसं १८५७ जेठ ८ गते पाटनबाट बनारसतिर भागे । उनलाई पछ्याउँदै जेठी महारानी राजराजेश्वरी पनि बनारसतिरै लागिन् । रणबहादुर शाहको बनारस पलायनपछि नाबालक राजा गीर्वाणयुद्धविक्रमको नायबी लिएर माहिली रानी सुवर्णप्रभाले शासन चलाउन थालिन् । उनले शासनमा आफ्नो अधिकार भएपछि मूलकाजी कीर्तिमानसिंह बस्नेतलाई मूलकाजी बनाइन् ।
त्यस क्रममा रानी र काजीबिच घनिष्टता बढ्दै बसउठ भएपछि रानी मूलकाजीसँग बसिन् भन्ने हल्ला चल्यो । यहीँ क्रममा विसं १८५८ असोज बदि ६ को बेलुका राति दरबारबाट निस्केर हात्तीसारको बाटो हुँदै हिँडिरहेका कीर्तिमान सिंहलाई निरकञ्चन खवास र सामदत्त शाहीले काटिदिए । उनीहरू तत्कालै भागेर बेपत्ता भए । यो घटनाका बारेमा कचहरी बस्दा काजी देवदत्त थापाको आँखा झिकियो । सरदार प्रतिमन राना, खजान्ची गर्भु खवास, सरदार इन्द्रसिंह खवासलाई निर्ममतापूर्वक काटेर मारियो । सरदार प्रबल रानालाई भने फलामको पिँजडामा पारी थुनियो (नेपाल, २०५२: ४८–४९) ।
ज्यान बचाउन भागेर बेपत्ता
स्वामी महाराज रणबहादुर शाह बनारसबाट नेपाल फर्कंदै थिए । उनलाई आदरपूर्वक स्वागत सत्कार गरेर नजरबन्द गरी काठमाडौँ सहर ल्याउने योजना थियो । त्यसबेलाको प्रचलित परम्परा अनुसार स्वामी वा सन्न्यासी भइसकेका व्यक्तिले राजभवनभित्र प्रवेश गर्न हुँदैनथ्यो । त्यसैले उनका लागि सहरभन्दा बाहिर लुमडी (भद्रकाली) मन्दिरको नजिक टुँडिखेलको मैदानमा पाल टाँगेर राख्ने र पछि आपसी सरसल्लाह अनुसार उनलाई उपयुक्त ठाउँमा राख्ने सरसल्लाह पनि हुँदै थियो ।
सोही अनुसार व्यवस्था पनि गरिएको थियो । यी सबै योजना महारानी राजराजेश्वरीले बनाएकी थिइन् । उनलाई वैधानिक बालक राजा गीर्वाणयुद्धविक्रम शाहप्रति बफादार मूलकाजी दामोदर पाँडेले साथ दिएका थिए । रणबहादुर शाहको सुरक्षाका लागि काजी नरसिंह गुरुङका साथ एक सैनिक दल खटाइएको थियो तर रणबहादुर शाहका अनन्य सहयोगी भीमसेन थापाले नरसिंह गुरुङलाई आफ्नो पक्षमा पारिसकेका थिए (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापा : यिनको उत्थान र पतन’ (२०६९:५०) ।
रणबहादुर शाहको निगरानीका लागि खटाइएका नरसिंह गुरुङ उनकै अङ्गरक्षकमा परिणत भइसकेको अवस्थामा विसं १८६० फागुन २१ गते उनी थानकोट उत्रने कार्यक्रम थियो । उनको स्वागत गर्न त्यस दिन मूलकाजी दामोदर पाँडे आफ्ना सहयोगी भारदारहरूका साथ थानकोट पुगेका थिए । मूलकाजी पाँडेको साथमा सरदार प्रबल राना पनि थिए ।
रणबहादुर शाहको सवारी चलाउनका लागि एउटा सिँगारिएको हात्तीका साथ सम्मान–सलामी अर्पण गर्न कम्पू पल्टनका हतियारबन्द सैनिकहरू पनि त्यहाँ पु¥याएको थियो । रणबहादुर शाह थानकोट उत्रँदा निगरानीका लागि खटिइगएका काजी नरसिंह गुरुङ उल्टो स्वामी महाराजको अङ्गरक्षक भएर आइरहेको देख्दा मूलकाजी दामोदर पाँडे र यिनको प्रमुख सहयोगी सरदार प्रबल रानाले खेलको पासा पल्टिइसकेको अनुभव गरिहाले ।
तैपनि प्रचलित परम्परा अनुसार मूलकाजी पाँडे र सरदार रानाले स्वामी महाराजको पाउमा झुकेर विधिवत् साष्टाङ्ग दण्डवत गर्दा भीमसेन थापाको पूर्वयोजना अनुसार स्वामी महाराजको हुकुमले पाँडे र रानालाई त्यतिखेरै त्यहीँ गिरफ्तार गरियो । दुवै भारदारको खुट्टामा नेल, हातमा हतकडी र गलामा गलफन्दीहरू पहि¥याइयो । दुवै भारदारका सहयोगीहरू त्यहीँबाट यत्रतत्र पलायन भइहाले । पक्राउ परेका दुवै भारदारलाई लुमडी मन्दिरनजिकैको सत्तलमा कडा निगरानीका साथ राखियो (आचार्य, २०६९:५०–५१) ।
यसरी पक्राउ परी कडा निगरानीका साथ राखिएकोमा पदच्युत सरदार प्रबल रानाले पदच्युत काजी दामोदर पाँडेसँग भाग्ने सल्लाह गरे तर पाँडेले भाग्न मानेनन् । पदच्युत सरदार प्रबल राना चाहिँ बिहानीपख झिसमिसेमै दिसा गर्न जाने बहाना गरी एक जना सिपाहीलाई साथमा लिई अलि पर खेततिर लाग्दा त्यहीँबाट भागी बेपत्ता भए । उनलाई भगाएको आरोपमा पहरा बसेका एक जना जमदार र एक जना सिपाहीलाई भोलिपल्टै प्राणदण्ड दिइयो । काट्नुपर्ने ठहर भएका पदच्युत काजी दामोदर पाँडेलाई अझै कडाइका साथ घाँटीमा घट्ट झुन्ड्याई कठोरताका साथ राखियो (आचार्य, २०६९:५३) ।
मारिनबाट ज्यान बचाउँदै भाग्ने भारदार प्रबल राना त्यहाँबाट कता पुगे त ? यस प्रसङ्गबारे नेपाल (२०५२:९६–९७) ले प्रकाशित गरेको एक अर्जिमा “...कासिबाट रणबहादुर साहि आयो र दामोदार पांडे र प्रबल राना सर्दार स्वामीलाई छेकन भनी गयो र सरबाहादुर साहि स्वामिका पछे भइ तिलंगालाई हुकम दिइ दामोदर पांडे प्रबल राना दुई जनालाई थानकोटदेखि बांधि ल्यो प्रबल् राना भन्या झारा फिर्छु बहाना गरि बातोबात भागि गोरषपुर गयो...” भन्ने परेकाले उनी त्यहाँबाट भागेर गोरखपुर पुगेको भन्ने स्पष्ट हुन्छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्’ (२०६८:४८–४९) मा उल्लेख गरे अनुसार पृथ्वीनारायण शाहकै समयदेखि नेपाली वकिलका रूपमा भारत भूमिमा कार्यरत दीनानाथ उपाध्याय भीमसेन थापाको उदयपछि खोसुवामा परेका थिए । उनी बाँकी जीवन बनारसमा बिताउन त्यसतर्फ लागेका थिए । यता काठमाडौँबाट ज्यान जोगाएर भागेका सरदार प्रबल राना पनि दिनानाथसँग भेट गर्न त्यतै पुगेका थिए । त्यसबेला दीनानाथ ६८ र प्रबल राना ५५ वर्ष उमेरका थिए ।