एक पटक पुग्नैपर्ने धार्मिक एवं प्राकृतिक पर्यटनस्थल हो– इच्छाकामना मन्दिर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–२, चिसोपानीस्थित इच्छाकामना मन्दिर एकदम आकर्षक एवं सुन्दर देखिन्छ । यहाँ धार्मिक पर्यटनका साथै प्राकृतिक सौन्दर्य अवलोकनका लागि पनि निकै राम्रो स्थल रहेको छ ।
धेरै अग्लो स्थानमा रहेको इच्छाकामना माताको मन्दिरको दर्शन गर्न जाने क्रममा कुरिनटारबाट करिब दुई अढाई घण्टा अग्लो डाँडामा गाडीबाट गएपछि बल्लतल्ल पुगिन्छ । तल हाइवेबाट त्यस डाँडामाथि रहेको इच्छाकामना मन्दिरसम्म जान जम्मा एक हजार आठ सय मिटर रहेको छ भने ठाडो उकालो भएकाले ठाउँ ठाउँमा घुमाउरो बाटो बनाइएको छ ।
विसं २०७६ सालमा बनेको यो बाटो अझै कच्ची नै रहेको, धेरै ठाउँमा साँघुरो बाटो भएको र गाडी घुमाउनुपर्ने मोड पनि सानो रहेकाले गाडी चलाउँदा पनि धेरै होस पु¥याउनुपर्ने हुन्छ । कतैकतै मात्र अलि अलि कालोपत्रे गरिएको छ भने पूरै कच्ची बाटो भएरै जानु पर्दछ । डाँडामाथि पुग्दा एकदमै रमणीय हुन्छ । मन्दिर रहेको स्थान एकदम सम्म मिलेको ढुङ्गाले छापेको छ भने त्यहाँबाट हेर्दा चारैतिर रमणीय दृश्य देखिनाले मन नै आनन्दित हुन्छ । चारैतिर हिमाल पहाडको दृश्य र वरिपरि हरियाली स्थानले मनमोहक बनाउँछ ।
इच्छाकामना माताको स्थापना कसरी भयो भन्ने सन्दर्भमा सुन्नमा आएको यथार्थ यस प्रकार छ । करिब चार सय वर्षअघि मणिराज गुरुङले स्थापना गरेका थिए । गुरुङ भैँसी चराउने गर्थे । एक दिन भैँसी चराउँदै जाँदा हाल इच्छाकामना रहेको स्थानमा भैँसीले टेक्दा रगत आएछ । त्यसपछि अलि माथि भैँसीले टेक्दा त्यस ठाउँमा दुध आएछ ।
सुरुमा त गुरुङले रगत आएको स्थानमा देवी माता उत्पन्न भएको देखे र यो कुराको हल्ला भएपछि स्थानीय गाउँलेले देवीको पूजा गर्न थाले । त्यहाँ पूजा गर्न जाने स्थानीय भक्तजनले जे जे इच्छा गरे, त्यो पूरा हुन थाले छ । कसैले सन्तानको इच्छा गरे सन्तान पाउन थाले छन् । कसैले कामको इच्छा गरे काम पाउन थाले छन् । कसैले दुःखकष्टबाट छुटकारा पाउने इच्छा त कसैले रोग कष्टबाट निको हुने इच्छा राखी पूजा गर्दा सबैको इच्छा पनि पूरा हुन थालेपछि त्यस देवीको नाम नै इच्छाकामना रहन गएछ । इच्छाकामनालाई मनकामनाकी बहिनी पनि भनिन्छ ।
त्यतिबेला इच्छाकामनाको एउटा सानो मन्दिर बनाइएको थियो । हाल यो मन्दिरको निर्माण सम्पन्न भएको एक वर्ष मात्र भयो । विसं २०७६ देखि निर्माण सुरु भएको इच्छाकामनाको यो मन्दिर एक वर्षअघि मात्र अर्थात् विसं २०७९ सालमा सम्पन्न भएको हो । जम्मा दुई करोड ४० लाख रुपियाँ लागत लागेको यस मन्दिरको निर्माणमा धेरै जनाको साथ, सहयोग र सहभागिता रहिआएको छ ।
इच्छाकामना गाउँपालिकाले मात्र एक करोड ५० लाख रुपियाँ दिएको थियो भने अन्य विभिन्नि ठाउँबाट सहयोग जुटाइएको थियो । हाल यो तीन तले मन्दिरमा गर्भगृह र दुई वटा आकर्षक सुनौलो रङको छानो र सुनौलो रङको गजुर पनि रहेको छ । सुन जस्तै देखिने छानो गजुरलाई स्थानीयवासीले सुनको छानो र गजुर भन्ने गर्छन् । यस मन्दिरमा रहेको डाँछी इँटा भक्तपुरका भक्तजनबाट प्राप्त भएको हो भनिन्छ । मन्दिरको सुनौलो छाना र गजुर भक्तपुरकै भक्तजनको सहयोगबाट निर्माण गरिएको हो ।
भक्तपुर सुकुलढोकाका पूर्णभक्त कोजू ३५ वर्षअघि यहाँ मुग्लिङबाट हिँडेरै आएका थिए रे ! उनका सन्तान छोराछोरी नभएकाले इच्छाकामनामा आए र इच्छा पूरा होस् भनी वर मागी गएछन् । पछि छोराछोरी भएपछि कोजू इच्छाकामनामा पूजा गर्न आए छन् र स्थानीयवासीलाई आफ्ना छोराछोरी पनि देखाए छन् । त्यसपछि त भक्तपुरका भक्तजन आउन थाले ।
शनिबार पिकनिकका रूपमा पनि यस इच्छाकामनामा भक्तजनको भिड लाग्ने गर्दछ । कहिलेकाहीँ शनिबार त दस बाह्र वटा ठुला बसमा समेत तीर्थालु भक्तजन आउने गर्छन् । इच्छाकामनामा बलि पनि चढाउने गरिन्छ । मन्दिरकै प्राङ्गणमा बलि दिने निर्धारित स्थान तोकिएको छ । त्यहीँ खुँडा र काठको खामो पनि राखिएको छ ।
माथि उल्लेख गरे अनुसार भैँसीले टेकेको अर्को ठाउँमा जहाँ दुध निस्केको थियो, त्यस ठाउँमा रुखमुनि शिवलिङ्गको स्थापना गरिएको छ । उक्त रुख पिपलको जस्तै अग्लो देखिन्छ तर त्यो दुधिलो घाँसको रुख रहेछ । त्यसको साथमा बाँस पनि रहेको देखिन्छ । अलि अग्लो स्थानमा रहेको त्यस रुखमा अग्लो चौतारा रहेको छ भने इच्छाकामना दर्शन गर्न जाने क्रममा त्यस रुखको परिक्रमा गरी जानुपर्ने हुन्छ । इच्छाकामनामा हालका पुजारी हर्षबहादुर गुरुङ माताको स्थापना गर्ने मणिराज गुरुङकै पाँचौँ पुस्ताका हुन् । इच्छाकामना माताले सबैको इच्छा पूरा गरून् । जय इच्छाकामना माता ।