विश्वको सर्वशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाको आर्थिक राजधानी न्युयोर्क विकास, समृद्धि, खुलापन र आर्थिक उपार्जनका हिसाबले संसारभरका मानिसका लागि आकर्षक मानिन्छ । यहाँको विकास, वैभव, नियम कानुनको पालना तथा मानव मात्रका लागि आवश्यक पूर्वाधारहरूको निर्माणले विकासको परिभाषालाई राम्ररी उजागर गरेको छ ।
आफूलाई ‘सम्राट् राज्य’ (दी इम्पायर स्टेट) मान्ने न्युयोर्कका अनेक सहरको आआफ्नै विशेषता छ । न्युयोर्क सिटी, म्यानहटन, क्विन्स जस्ता सहरहरू यहाँको प्रमुख आर्थिक–व्यापारिक थलो मानिन्छ । भौतिक सुविधाले चरम चुलीमा पुगेको न्युयोर्कले प्राकृतिक सुविधालाई पनि उत्तिकै प्राथमिकता दिएको छ । यसको उदाहरणका रूपमा सहरका विभिन्न भागमा बनेका विशाल पार्कलाई लिन सकिन्छ । सहरी सभ्यता र विकास भनेको ठुला ठुला महल र सडक मात्र होइन भन्ने यहाँ प्रमाणित गरिएको छ ।
त्यस्तै यहाँका नदीहरू निकै सफा छन् । पार्कहरूमा भौतिक संरचना कम, खुला ठाउँ बढी छाडिएका छन् । विभिन्न प्रजातिका फूल र रुखले हरियालीसँगै शीतलता प्रदान गर्नुका साथै खुला चौर र त्यहाँ निर्मित अनेक किसिमका खेल संरचनाले केही मिनेटअघिको सहरी भिडभाडलाई पूरै बिर्साउँछ । नदीलाई पूजा गर्दै यसमा ढल मिसाउने नेपालीको तुलनामा नदीलाई नदी मात्रै मान्ने अमेरिकीको वातारणप्रतिको चेत तारिफयोग्य छ ।
मानव विकासको इतिहाससँगै उसलाई खुला वातावरण चाहिन्छ, हरियाली चाहिन्छ भन्ने मान्यतालाई अमेरिकामा राम्रोसँग अभ्यास गरिएको छ । अहिले विश्वमा सर्वाधिक कार्बन उत्सर्जन गर्ने मुलुकमा अमेरिका परे पनि सो मुलुकमा सदियौँदेखि स्थापित गरेका पार्कहरूको महत्व अहिले अरू बढेको छ । निःशुल्क प्रवेश रहेका पार्कहरूमा फुटबल मैदानदेखि एथलेटिक्स ट्र्याकसम्म बनाइएका छन्– सहरी कोलाहललाई चटक्कै बिर्सने गरी । पार्कहरूमा पुग्दा अमेरिका नै हो र भन्ने भान हुन्छ भने पार्कबाट बाहिर निस्केर बजार क्षेत्र पुग्दा अर्कै दुनियाँ पुगे जस्तो हुन्छ ।
सुविधाका अनेक आयाममध्ये पार्क व्यवस्थापन पनि एक प्रमुख हो । खुलापन अर्थात् स्वतन्त्रताको चरम अभ्यासदेखि प्रकृतिसँगको निकटतासम्मको विशेषताले भरिएको न्युयोर्कको विकासको शैली नेपालको परम्परागत मौलिक अभ्याससँग मेल खाएको देखिन्छ । विकासलाई भौतिकतासँग मात्र नहेरेर प्राकृतिक पक्षबाट पनि मानिसलाई खुसी दिनु पर्छ भन्ने मान्यता यहाँ रहेको पाइन्छ ।
मानिस जन्मैले स्वतन्त्र प्राणी भएकाले उसको स्वतन्त्रताको सम्मान गर्नु पर्छ । त्यस्तै मानिस समुदाय र प्रकृति निकट रहेर मात्र खुसी हुन सक्छ भन्ने मान्यताले पनि यहाँ राम्ररी प्रभाव पारेको छ । विकास, वैभव र स्वतन्त्रताको उच्चतम अभ्यास न्युयोर्क हो र यसमा पनि टाइम्स स्क्वायर यहाँको सर्वाधिक चर्चित स्थल हो । यहाँ विश्वभरका मानिस पुग्दछन् । यहाँ पुग्नुको सबभन्दा ठुलो कारण स्वतन्त्रताको निर्वाध उपयोग हो ।
मानिस कसरी खुसी हुन्छ, त्यही सुविधा पाइने अमेरिकामा गाँजा सेवन पनि एक महत्वपूर्ण पक्ष रहेको छ । समय र मात्रा निर्धारण गरेर निश्चित परिमाणमा गाँजा सेवन गर्न कानुनी मान्यता पाएको अमेरिकामा टाइम्स स्क्वायर यसको विपरीत छ । भ्रमणकर्ताहरू एकपछि अर्को गरेर गाँजाको ‘चेन स्मोक’ गरिरहेका हुन्छन् ।
भ्रमणका क्रममा छोटो समयमै देखिने विविधता आकर्षक पक्ष हो । केही पर हरियाली र फूलैफूलले भरिएका विशाल पार्क, केही वर गाँजाको धुवाँले कुहिरीमण्डल जस्तै भएको टाइम्स स्क्वायर । विश्वमा सबैभन्दा बढी पैदलयात्रा गरिने सहरी क्षेत्र हो । यो किन पनि विश्वचर्चित छ भने यहाँ निर्वाध गाँजा सेवन गर्न, मनोरञ्जनका अन्य सबै कुरा उपभोग गर्न पाइन्छ । फोटो सेसन, सिनेमा निर्माण, म्युजिक भिडियो निर्माण, विश्वमा विकसित गरिएका उच्चतम प्रविधिको व्यापारका साथ खुला रूपमा गाँजा बिक्री गर्न बसेकाहरू ‘तिमीलाई यो चाहिन्छ’ भन्दै आउने दृश्यले अर्को आश्चर्य उत्पन्न गर्दछ । संसारलाई गाँजा लागुपदार्थ भन्दै प्रतिबन्ध लगाउन दबाब दिने, आफू भने खुला गर्ने ? यो पनि व्यापारिक पोलिसीको एउटा नमुना नै मान्न सकिन्छ ।
अत्यन्त व्यस्त र भिडभाड रहने न्युयोर्कको सबभन्दा ठुलो समस्या सार्वजनिक शौचालय नहुनु हो । केही दशकअघिसम्म यहाँ शौचालय थिए, तर त्यहाँ अपराध बढ्न थालेपछि अधिकांश हटाइएका रहेछन् । विशेष विशेष स्थानमा मात्र शौचालय खुला गरिएका छन् । भ्रमणका क्रममा अपर्झट शौचालय जानुपर्ने अवस्था भए निकै सकस पर्छ । सामान्य किसिमका रेस्टुरेन्टहरूमा पनि ग्राहकका लागि शौचालय हुँदैनन् । ठुलै र ब्रान्ड भएका रेस्टुरेन्ट जानु पर्छ, त्यहाँ पनि केही खानेकुरा नकिनेर शौचालय प्रयोग गर्न पाइँदैन । यो निकै ठुलो समस्या हो ।
सहरको सुन्दरता र सवारी व्यवस्थापनमा न्युयोर्कको आफ्नै विशेषता छ । हुन त यहाँको तुलनामा अन्य राज्यमा बढी व्यवस्थित रहेको भनिए पनि त्यसको प्रत्यक्ष अवलोकन गर्न नपाएको हुँदा त्यसमाथि टिप्पणी गर्नु उपयुक्त हुँदैन । यद्यपि सवारी व्यवस्थापन, सवारी नियम पालनामा देखिएको अनुशासनले भने काठमाडौँको भद्रगोल अवस्था कहिले सुधार होला भन्ने प्रश्न उठ्छ ।
न्युयोर्कको विशेषता हरियालीको प्रवर्धन मुख्य रहेको छ । सहरलाई सुन्दर बनाउन र आफ्ना नागरिकलाई सहज सुविधा दिलाउन बनेका पार्कहरूको सहरमा खुला स्थान कति आवश्यक छ भन्ने देखाउँछ । विगतमा नेपालका सहरहरूको चोक चोकमा खाली स्थान हुन्थे, ती स्थानमा मानिस जम्मा भएर गफगाफ गर्ने मात्र होइन, कुनै विपत्ति आइपर्दा सुरक्षित रहन पनि ती स्थान चाहिन्छन् । आजभोलि काठमाडौँका खाली स्थान सबै अतिक्रमणमा परेका छन् । हरियाली बढाउने डाँडाहरूमा डोजर कुदेका छन् ।
प्राकृतिक मार्गचित्रको विशेष महत्व राख्ने नेपालमा प्रकृतिले दिएका संरचना नै संरक्षण गर्न नसकेको देख्दा र न्युयोर्कमा पार्कहरूको बन्दोबस्त हेर्दा चित्त कुँडिन्छ । विकास भनेको ठुला भवन र सडक मात्र होइन भन्ने दृष्टान्त विकासले चरमचुली छोएको न्युयोर्कले देखाउँछ । विकासको अर्थ जनता स्वस्थ र सुखी हुनु पनि हो । वातावरण शुद्ध हुनु पनि हो । हरियाली कायम हुनु पर्दछ, नदीहरू स्वच्छ हुनु पर्दछ भन्ने पूर्वीय मान्यतालाई आत्मसात् गरेको नेपालमा हरियालीको साटो कङक्रिटको जङ्गल खडा भएका छन् भने न्युयोर्कमा भीमकाय महलबिच ठुला ठुला हरियालीपूर्ण पार्क बनेका छन् । विकास के हो भन्ने यही दृश्यले सबै दृष्टान्त देखाउँछ ।
नेपाली समुदायको अवस्था
विश्वभरका मानिसको बसोबास रहने न्युयोर्कमा नेपालीको सङ्ख्या पनि उल्लेख्य मात्रामा छ । सन् २०२० मा गरिएको जनगणनामा नेपालीको आधिकारिक सङ्ख्या दुई लाख १९ हजार ५०३ रहेको छ । यो प्रतिवेदन २०२३ सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो ।
अमेरिकाको राष्ट्रिय जनगणना ब्युरोको प्रतिवेदन अनुसार विश्वकै अर्थतन्त्रको केन्द्र मानिने न्युयोर्कमा २३ हजार ७७ नेपाली छन् । यो सङ्ख्या आधिकारिक हो । अनधिकृत रूपमा बस्नेहरूका सङ्ख्या अरू बढी हुन सक्छ । न्युयोर्क सबैका लागि अवसरको सहर हो र यहाँ सुरक्षा, काम सबै उपलब्ध छ । यसैले पनि नेपालीले यहाँ केही न केही व्यवसाय पनि गरेका छन् । नाम चलेका स्थानमा नेपाली रेस्टुरेन्टहरू पनि छन् तर नेपालीको व्यवहार भने चित्तबुझ्दो पाउन सकिँदैन । राजनीतिक मुद्दा र नारामा सामाजिक सञ्जालहरूमा आक्रोश पोख्ने, नेपाल र नेपालीका बारेमा चिन्ता व्यक्त गर्नेहरू जति देखिन्छन्, यथार्थमा त्यस्तो पाउन सकिँदैन ।
विकासको परिभाषा र अर्थ न्युयोेर्कमा आएपछि देखिन्छ । सिमेन्ट र फलामका संरचना ठड्याएर मात्र विकास हुँदैन, जनतालाई आधारभूत कुराको सहज उपलब्धता, राज्यप्रति जनताको भरोसा र नियमन, कानुन पालनामा कडाइ पनि विकास हो । सुलभ शिक्षा, स्वास्थ्य र यातायात अनि गरिखानेका लागि अवसर सिर्जनाबाट मात्रै विकास हुन्छ । यसका अतिरिक्त भीमकाय महल र रङ्गशाला जस्ता फराकिला सडकमा गुड्ने लाखौँ सवारीसाधनका बिच खुला जमिन र हरियाली वातावरण पनि विकास हो । जुन विकासको ढाँचा नेपालमा पहिला थियो, अहिले विकासको परिभाषा नै बदलिएको भएर हरियालीले ढाकेको, सम्पदाले भरिएको देशका नागरिकले सात समुद्रपारिको अमेरिकाको भौतिक पूर्वाधारबाहेकका अन्य क्षेत्रमा गरेको र कायम राखेको विकासको प्रशंसा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।