• २६ वैशाख २०८१, बुधबार

मेडिकल कलेज सञ्चालन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको आग्रह

blog

दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

शशिधर पराजुली 

विराटनगर, वैशाख १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल कलेज सञ्चालन गर्ने तयारीलाई अगाडि बढाउन पूर्वाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार मोरङको गोठगाउँस्थित विश्वविद्यालय परिसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो आग्रह गर्नुभएको हो । ३०० शैय्याको अस्पतालसहितको मेडिकल कलेज सञ्चालन गर्ने तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।  

“मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु” उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “३०० शैय्याको अस्पतालसहित मेडिकल कलेजको तयारी बढाउनु होला ।”

प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्नुपर्छ, त्यसमा सरकारको विशेष चासो छ ।’ 

कृषि, उद्योग र पर्यटन विकासमा टेवा दिने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध ढंगले अगाडि बढाइने बताउनुभयो । 

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको विकास गर्नुपर्छ ।’ उहाँले कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरण विकास गर्न पनि विश्वविद्यालयले काम गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिनुभयो ।  

कोशी प्रदेशसभा सदस्य जीवन आचार्यले मेडिकल कलेज र सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लामो समयदेखि पहल गर्दै आउनुभएको थियो । शुक्रबार बिहान पनि सांसद आचार्यले अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटमा पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज स्थापना गर्न र कलेज सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभएको थियो । शुक्रबार आयोजित दिक्षान्त समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका २ हजार ९०० विद्यार्थीलाई दिक्षित गरिएको छ ।