• २४ वैशाख २०८१, सोमबार

प्रधानमन्त्रीलाई डेढ सय बालबालिकाको चिठी

blog

बालबालिकाले प्रधानमन्त्रीलाई लेखेको चिठी प्रशासनमार्फत पठाइँदै । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, वैशाख १४ गते । बैतडीको पाटन नगरपालिकाका १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई ‘मैले चाहेको शिक्षा’ विषयमा चिठी लेखेका छन् । गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि लेखेको चिठी शुक्रवार जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ । 

पाटन नगरपालिका–८, स्थित जनता मावि आरुबाटामा कक्षा नौमा अध्ययनरत अञ्जली भट्टले ‘मैले चाहेको शिक्षा’ शीर्षकमा प्रधानमन्त्रीलाई चिठी लेख्दै विद्यालयमा शिक्षक नभएको गुनासो पाेख्नुभएको छ । 

बालबालिकाले प्रधानमन्त्रीलाई लेखेको चिठीमा निःशुल्क र गुणस्तरीय शिक्षा, दक्ष शिक्षक व्यवस्थापन, विज्ञान तथा प्रविधियुक्त शिक्षा, मनोरञ्जनका माध्यमबाट सिकाइको वातावरण लगायत शिक्षामा लगानी गर्नु पर्ने सात वटा मुख्य विषय छन् । 

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह अन्तर्गत ‘मैले चाहेको शिक्षा’ शीर्षकमा १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई चिठी लेखेकोे अभियानमा सरिक साझेदार संस्था भीमेश्वर सामुदायिक विकास सङ्घ (बिसिडिओ) का अध्यक्ष मानबहादुर ऐरले बताउनुभयो । उहाँले, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको समन्वयमा सङ्घले अभियान सञ्चालन गरिरहेको बताउनुभयो । 

सोमबारबाट सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२४ को अवसरमा सार्वजनिक शिक्षाका विभिन्न मुद्दामा नागरिक समाजको भेला तथा प्रदर्शन गरेका उहाँले जानकारी दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा भीमेश्वर सामुदायिक विकास सङ्घ (बिसिडिओ) को आयोजना तथा फोर्स नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यक्रमले तीन वटै तहका सरकारसँग निःशुल्क, गुणस्तरीय तथा सर्वसुलभ, व्यावहारिक, सहभागितामूलक र प्रविधिमैत्री शिक्षाको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।