• २५ वैशाख २०८१, मङ्गलबार

गुल्मीमा तीन हजारभन्दा बढीकाे औलो परीक्षण

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १४ गते । गुल्मीमा तीन हजार ८५ जनामा औलो परीक्षण गरिएको छ । चालू आर्थिक बर्षको हालसम्म जिल्लाभर तीन हजार ८५ जनामा औलो परीक्षण गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार औलो परीक्षण गरिएकामध्ये एक जनामा मात्र औलो पोजेटिभ देखिएको हो । जिल्लामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको परिक्षण गर्न सकिने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण भट्टराईले बताउनुभयो ।

विगतका वर्षदेखि स्वास्थ्य कार्यालयमार्फत जिल्लाका रहेका स्थानीय तहसँग समन्वय गरी औलोसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । स्थानीय औलोलाई शून्यमा पुर्‍याउने लक्ष्य राखिएको छ । औलो बिरामीको खोज पड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी औलो सर्ने सदरलाई घटाउने रणनीतिक योजना रहेका भट्टराईले बताउनुभयो ।

यस जिल्लाको यस जिल्लामा औलोको जोखिम कमै देखिएको छ । आयातित औलोको बिरामीको जोखिम रहेको सम्भावित क्षेत्रमा नमुना सङ्कलन गर्ने र परीक्षण गर्ने गरिएको छ। पछिल्लो समय तराईका जिल्लासँगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले आग्रह गर्नुभयो ।

यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भन्दै औलो रोगका कारण टाउको दुख्ने, बान्ता र ज्वरो आउने उहाँले बताउनुभयो । समयमै उपचार नगरेमा औलोकै कारण ज्यानसमेत जान सक्ने अर्यालको भनाइ छ । लुम्बिनी प्रदेशमा १८० आयतित र एक जना स्थानीयमा औलो देखापरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले सन् २०२५ सम्ममा देशभर औलोमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।