• २३ वैशाख २०८१, आइतबार

पोखरा-मुग्लिन सडक विस्तार : पश्चिम खण्डमा २३ प्रतिशत काम पुरा

blog

पश्चिम खण्डको दुलेगौंडमा कालोपत्रे हुँदै । फाइल तस्बिर ।

अमरराज नहर्की

तनहुँ, वैशाख १३ गते । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा तनहुँको काम तीव्र रूपमा भएको छ । जनशक्ति थप गर्ने, रातको समयमा पनि काम गर्ने र चाडपर्व तथा सार्वजनिक बिदाको समयमा पनि काम सुचारु भएसँगै कामले गति लिएको हो ।  

यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । सुस्त गतिमा काम भइरहेको पश्चिम खण्डले छ महिनाअघि देखि गति लिन थालेको छ । आयोजनामा नयाँ प्रमुख आएसँगै छ महिना अघि आठ प्रतिशत प्रगति रहेकोमा हाल २३ प्रतिशत पुरा भएको छ । आयोजनाको कामलाई गति दिन रातको समयमा पनि काम भइरहेको र दसैँ, तिहार जस्ता चाडपर्वमा समेत काम गरिएकोले प्रगति सो  प्रतिशत पुगेको आयोजनाले जनाएको छ । 

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । ठेकदार कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले २३ प्रतिशत काम पुरा भएको जानकारी दिनुभयो । यातायात आवागमनलाई सहज बनाउन कालोपत्रेको कामलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार हालसम्म ९ दशमलव दुई किलो मिटर एकतर्फी कालोपत्रे भएको छ । वर्षायाम सुरु हुनुभन्दा अघि नै १८ किलो मिटर कालोपत्रे गर्ने गरी काम तीव्र भइरहेको छ । पश्चिम खण्डमा ठुलो चार र साना ८ वटा पुल बनाउने कामहरू भइरहेको छ । म्याग्दे खोला, कुम्ले खोला, कोत्रे र विजयपुरमा गरी चार स्थानमा ठुला पुल बन्ने छ । 

रातको समयमा समेत ४० देखि ५० जना कामदार पुल निर्माणका संरचना तयार पार्न खटिइरहेको पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, "कामलाई गतिशील बनाउन कामदारसँगै उपकरण थपेका छौँ, रातमा पनि काम भइरहेको छ ।" पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ । 

आयोजनामा नयाँ प्रमुख आएसँगै कामले गति लिएको पाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, "जनतालाई हिलो, धुलो, खाल्टाखुल्टीमा यात्रा गर्न नपरोस् भनेर हामीले हामी छिटो काम गर्न भनेका छौँ, आयोजनाले गति दिएर सन्तोष जनक तरिकाले काम अघि बढाएको पाइएको छ ।" पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ । 

राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेन हुनेछ । गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।

एसियाली विकास बैङ्क (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ ।  

राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । पश्चिम खण्डको निर्माणका लागि सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा वि.सं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । 

यस आयोजनाको काम वि.स.२०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ । पूर्वी खण्डमा हालसम्म ५६ प्रतिशत काम पुरा भएको पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिनुभयो ।