• ५ जेठ २०८१, शनिबार

विश्वकप टोलीमा नाम देख्दा आँसु आयो : अनिलकुमार साह

blog

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्नुहुँदै अनिल शाह । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २२ गते  नेपालका ब्याटर अनिलकुमार साहले आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताउनुभएको छ ।

पाहुना टोली वेस्ट इन्डिजज ‘ए’ विरुद्ध पाँचौँ तथा अन्तिम खेलमा जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिनुभएको हो । सो क्रममा उहाँले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताउनुभयो । 

टोलीमा नाम देख्ने बित्तिकै घर परिवारसँग खुसी साटेको पनि उल्लेख गर्नुभयो । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताउनुभयो । उहाँले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गर्नुभएको थियो । 

ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताउनुभयो । सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उहाँको भनाइ थियो । शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिनुभयो । उहाँले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गर्नुभयो ।

विश्वकप अगाडि वेस्ट इन्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उहाँको विश्वास छ । पत्रकार सम्मेलनमा तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गर्नुभयो । 

यस पटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गर्नुभयो । सोमपालले आयरल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । 

नेपाली टोलीले यस शृङ्खलाभर राम्रो बलिङ र ब्याटिङ गरेको पनि सोमपालले बताउनुभएको छ । सिरिजको दोस्रो खेलमा एक सय ६० रनको लक्ष्य चेज गर्न नसक्नुको कारण नै सिरिज गुमाउनु परेको सोमपालको भनाइ छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले छिट्टै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको उहाँले बताउनुभयो ।