• २२ वैशाख २०८१, शनिबार

अस्पतालमा औषधी अभाव भएपछि नगरपालिकाको सहयोग

blog

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई अस्पताललाई औषधी उपलब्ध गराउँदै । तस्बिर : बिष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १३ गते ।
प्रादेशिक आयुर्वेद अस्पताल कमल गाउँपालिकालाई दमक नगरपालिकाले साढे तीन लाख बराबरको आयुर्वेदिक औषधी प्रदान गरेको छ । अस्पतालमा औषधीको अभाव भएको थियो । सरकारले निःशुल्क रुपमा प्रदान गर्ने औषधको अभाव भएको र यो वर्ष कोशी प्रदेश सरकारले समेत औषधी उपलब्ध गराउन सकेको थिएन ।

अस्पतालमा बिरामीको चाप भने बढ्दो अवस्थामा रहेको तर औषधीको मौज्दात शून्य रहेको थाहा पाएपछि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंको पहलमा नगरपालिकाले औषधी उपलब्ध गराएको हो । उपप्रमुख प्रसाईंले आफु अस्पतालमा सेवा लिन जाँदा अस्पतालमा औषधी नभएको थाहा पाएको बताउनुभयो ।

थोरै भए पनि नगरपालिकाको तर्फबाट यहाँका बिरामीले औषधी पाउन सकुन् भनेर पहल गरेको जानकारी दिनुभयो । प्रदेशको स्वास्थ्यमन्त्रीदेखि लिएर स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई समेत अस्पतालको अवस्थाको विषयमा आफुले बारम्बार भन्ने गरेको  उहाँको भनाइ छ ।

अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार चार महिनाभन्दा अघिदेखि अस्पतालमा कुनै पनि प्रकारको औषधी उपलब्ध थिएन । दमक नगरपालिकाले साढे तीन लाखको औषधी उपलब्ध गराएर अस्पतालमा आउने बिरामीका लागि ठुलो टेवा पुर्याएको उहाँले बताउनुभयो ।

अस्पताल रहेको पालिका कमल गाउँपालिकाले पनि औषधी उपलब्ध गराएको ठाकुरले जानकारी दिनुभएको छ । करिब तीन लाखको औषधी कमल गाउँपालिकाले उपलब्ध गराएको उहाँको भनाइ छ । अस्पतालको सेवा विस्तार भएपछि बिरामीको चाप बढिरहेको र औषधी नपाएपछि बिरामी निराश हुने गरेका थिए । अब केही राहत महसुस भएको उहाँले बताउनुभयो ।