• १२ साउन २०८१, शनिबार

हिमाल आरोहण गर्दै सन्ताउन्न देशका आरोही

blog

काठमाडौँ, वैशाख १२ गते । वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् । 

उहाँले भन्नुभयो, “यस वर्षको हिमाल आरोहणतर्फ अनुमति लिनेमा ८६ समूहका १६३ महिला र ६०४ जना पुरुष रहेका छन् । अनुमति लिएका मध्ये सबैभन्दा बढी अमेरिका र चीनबाट रहेका छन् ।” आरोहणका लागि सबैभन्दा बढी अमेरिकाबाट ६६ जना, चीनबाट ६४, बेलायतबाट ३०, भारतबाट २२, जापानबाट १९ र रसियाबाट १७ जना रहेको उहाँले जानकारी दिनुभयो । विभागको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा बढी सगरमाथा आरोहण गर्न हालसम्म ३६४ जनाले अनुमति लिएका छन् । 

अनुमति लिनेमध्ये ३४ समूहका ६८ महिला र २९६ पुरुष रहेका छन् ।

वसन्त याममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले सगरमाथा आरोहण गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको विभागले जनाएको छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए । 

सगरमाथा पछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् । त्यसै गरी लोत्सेका लागि ७५ जना, मकालु पहिलोका लागि सबैभन्दा बढी ४५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ५२ करोड ३२ लाख ६० हजार ९९९ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ । त्यस्तै २६ वटै हिमालमा दिएको अनुमतिबापत ५८ करोड २४ लाख ७९ हजार ८३० रुपियाँ राजस्व सङ्कलन भएको छ ।