• ८ मंसिर २०८१, शनिबार

मलेसियाको श्रम नीतिले नेपाललाई असर

blog

काठमाडौँ, वैशाख १२ गते । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । केहीदिनपहिले आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो । 

मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ । 

मलेसियाका गृहमन्त्री सेरी सैफुद्दिन इस्माइलले आप्रवासी श्रमिकको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी श्रमिक नलिइने बताएका थिए । मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन । 

नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियाले श्रमिक लिने गरेकामा नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियामा त्यहाँको सरकारले विदेशी श्रमिक रोक्ने निर्णयले नेपाललाई असर पर्ने देखिएको हो ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ भने त्यसमा नेपाली श्रमिकको सङ्ख्या करिब पाँच लाख रहेको तथ्याङ्कले देखाएको छ । 

सरकारी नीति अनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइने छ तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये पाँच लाखको हाराहारीमा नेपाली श्रमिक रहेका छन् ।

मलेसियामा पछिल्लो पटक धेरै रोजगारदाता कम्पनीले अतिरिक्त समय कामबापत (ओभरटाइम) को पारिश्रमिक नदिएका कारण आप्रवासी श्रमिकको आकर्षणसमेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्रसमेत परिरहेका छन् । गएको दुई आर्थिक वर्षमा नेपाली श्रमिकको पहिलो प्रमुख श्रम गन्तव्य देश मलेसियामा पछिल्लो पटक भने चौथोमा झरेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको नौ महिनामा मलेसियाका लागि ७७ हजारले श्रम स्वीकृति लिएका छन् । २०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।