• २२ वैशाख २०८१, शनिबार

जिप दुर्घटनामा पूर्व वडाध्यक्षको निधन

blog

अमरगढी नगरपालिका –७, जिप दुर्घटनामा परी मृत्यु भएका केशव भट्टराई । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, वैशाख ११ गते । जिप दुर्घटना हुँदा एक जना पूर्व वडाध्यक्षको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको पूर्वतर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो जिप अमरगढी नगरपालिका–७ भुमाडीमा दुर्घटना भएको हो । 

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष केशव भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोचन) घाइते हुनुभएको छ ।  

उहाँको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । डडेलधुरा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. नवीन खड्काका अनुसार घाइतेको अवस्था गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना पोखरा, बेलापुर सडक खण्डको भुमाडीमा कार दुर्घटना भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । कालोपत्रे हुनलागेको सडकमा ग्राभेल गरिएको छ । करिब आठ मिटर फराकिलो सडकबाट कार भिरतर्फ मोडेर करिब तीन सय मिटर तल खसेको उहाँले बताउनुभयो । कारमा सवार दुई जनामध्ये एकको घटनास्थलमै मृत्युभएको र चालक रोचनको अवस्था गम्भीर रहेको बताइएको छ ।  

मृतक भट्टराई २०५४ सालको निर्वाचनमा अमरगढी नगरपालिका ७ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । सङ्घीयतापछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ मा उहाँ नेपाली काँग्रेसबाट पुनः वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । तर एमाले उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवार भई वडाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो । यो निर्वाचनमा भने उहाँ नेपाली काँग्रेसकै उम्मेदवारसँग पराजित हुनुभयो ।