किएभ, यूक्रेन, असार ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्ष अघिदेखि रूसले आक्रमण गरिरहेकोे युक्रेनलाई नयाँ प्याट्रियट एयर डिफेन्स सिस्टम आपूर्ति गर्ने घोषणा गरेपछि अमेरिकी विशेष दूत किथ केलग रक्षा वार्ताका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ ।
वासिङ्टनले यस महिनाको सुरुमा किएभतर्फ गइरहेका केही हतियार आपूर्ति रोक्ने बताएको थियो तर अमेरिकी नेतृत्वको शान्ति वार्ता अवरुद्ध भएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण तीव्र बनाएको भन्ने धारणा राख्दै राष्ट्रपति ट्रम्पले भर्खरै रणनीति परिवर्तन गर्नु भएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले टेलिग्राममा लेख्नुभएको छ “हामी युक्रेनमा अमेरिकी विशेष प्रतिनिधि किथ केलोगलाई स्वागत गर्दछौं । शक्तिमार्फत शान्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिद्धान्त हो र हामी यस दृष्टिकोणलाई समर्थन गर्दछौँ ।
“हामी उनीहरूलाई देशभक्तहरू पठाउनेछौँ, जसलाई उनीहरूलाई अत्यन्त आवश्यक छ,” कति हतियारहरू पठाइनेछ भनेर निर्दिष्ट नगरी राष्ट्रपति ट्रम्पले बताउनुभयो । अमेरिकी राष्ट्रपतिले सोमबार वासिङ्टनमा नेटोका महासचिव मार्क रुटसँग भेट गर्ने क्रममा केलोगको युक्रेन भ्रमण भएको हो । मस्कोले हालैका महिनाहरूमा युक्रेनमा हवाई आक्रमणहरू बढाएको छ, लगभग दैनिक रुपमा सयौँ ड्रोनहरू प्रक्षेपण गरेको छ । रासस/एएफपी