साहारा लिम्बू
फुङ्लिङ, असार ३० गते । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगाएको छ । कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको हो ।
तोरोङदिन भन्ने स्थानमा रहेको पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभएको छ । उहाँका अनुसार पुल असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।
पुल नहुँदा तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जान पूर्ण रूपमा ठप्प भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै आधार शिविर पुगिन्छ । यो मार्ग भएर भदौदेखि मङ्सिरसम्म स्वदेशी तथा विदेशी पर्यटक ट्रेकिङ जाने गर्छन् ।
उक्त पुल तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो । यस्तै औली क्षेत्रमा पानीको अभाव भइरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र छ ।