• २२ वैशाख २०८१, शनिबार

चियाको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह

blog

चिया रोकिने समस्या समाधान गर्न आग्रह गर्दै इलामका चिया उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर सौजन्य: गोपाल कट्टेल

कोकिला ढकाल

इलाम, वैशाख ११ गते । नेपाल–भारत सिमाना झापाको काँकडभिट्टा–पानीट्यांकीमा नेपाली चिया रोकिएपछि इलामका चिया उद्योगीले चियाको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । 

केही दिन यता तयारी चिया बोकेका नेपाली गाडीहरू भारतीय सिमानामा रोकिएपछि त्यसको प्रत्यक्ष असर चिया व्यवसायी किसानलाई परेको छ । चियामा समस्या आएपछि काठमाडौँ पुगेका चिया व्यवसायीले आज प्रधानमन्त्रीसँग सो आग्रह गरेका हुन् । 

करिब एक साता यता निकासीका लागि पुगेका करिब ३५ ट्रक रोकिएपछि समस्याको समाधान सरकारी तवरबाटै हुनुपर्ने व्यवसायीको माग छ । भारतीय पक्षले प्रत्येक पटक प्रत्येक गाडीको गुणस्तर परीक्षण हुनुपर्ने भन्दै सिमानामै रोकिदिएको हो । भारतीय पक्षले केही वर्ष यता पटक–पटक यसरी नेपाली चिया रोक्ने गरेको व्यवसायीको भनाइ छ । 

पहिलो टिपाइको सबैभन्दा गुणस्तरीय चिया यसरी रोकिएपछि चिया क्षेत्रमा सङ्कट आएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो । ‘आज हामीले प्रधानमन्त्रीलाई नै भेटेर समस्या जाहेर गरेका छौँ । प्रधानमन्त्रीले भारतीय राजदूतमार्फत अथवा आफैँ पनि भारतीय पक्षसँग कुराकानी गर्ने आश्वासन दिनुभएको छ’ कट्टेलले भन्नुभयो, ‘यो समस्या नयाँ होइन, केही वर्ष यता चियाको मुख्य सिजनमा भारतले नेपालीलाई दुःख दिने गरेको छ । यो समस्या समाधान केन्द्रीय सरकारबाट मात्र हुन सक्छ ।’ 

इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायजसो नासा, आइओएमजस्ता अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुने गरेको पनि व्यवसायीको भनाइ छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपियाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपियाँ मूल्यको एक करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको तथ्याङ्क छ ।