• २२ वैशाख २०८१, शनिबार

काजुको जङ्गल

blog

- दीक्षा कोइराला 

दुई पाटा आपसमा जोडिएको, ठूलो सिमी जस्तो बाङ्गो आकारको, सेतो मसलेदार फल मन नपराउने कोही होलान् जस्तो लाग्दैन । यसको नाम भनियो भने सुन्नासाथै ‘आहा !’ भनिहालिन्छ । 

यति मिठो चिज अनेक मिश्रण गरेर मान्छेले बनाएको हो कि आफैँ यस्तै फलेको होला भन्ने जिज्ञासा धेरैमा हुनुपर्छ । हो त, मलाई पनि केही वर्षअघिसम्म यस्तै लाग्थ्यो । जब २०७३ सालको वैशाखमा भारतको पर्यटकीय शहर गोवा भ्रमणको अवसर मिलेथ्यो, त्यतिबेला पो आफूलाई औधि मनपर्ने काजुको जङ्गल देखेर छक्क परेथेँ ।

मुम्बैबाट गोवा जाँदा आउँदा बाटोमा पर्ने बाक्लो जङ्गल त काजुको पो रहेछ । ठूला ठूला रुखमा फलेको काजु हेर्न औधि मन लागेपछि चालकलाई सडक छोडेर भित्री बाटोतर्फ गाडी मोड्न लगाएथ्यौँ ।

भित्री सडक पस्ने मोडमा प्रशस्तै साइनबोर्ड देखिन्थे । ‘काजुका कारखाना यहाँ से दो किलोमिटर दूर,’ ‘ज्यादा दूर नही है काजु फ्याक्ट्री,’ ‘फ्याक्ट्री मे सस्ता मिलेगा’ । यस्ता साइनबोर्डले काजु फ्याक्ट्री हेर्ने मोह जगाइरहेथे । 

रुखमा फल्ने फलको कारखाना किन चाहियो ? स्वाभाविक जिज्ञासा हो तर जब रुखबाट आफैँले झारेर खोललाई फुटाएर काजु निकाल्न खोज्दा नसकेपछि भने छक्क लागेथ्यो ।

ढुङ्गाले फुटाउँदा धूलो होला भन्ने चिन्ता, हातले नफुट्ने भएपछि दाँतले टोकेर फुटाउने विचारले टोक्न मात्र के लागेथेँ, नजिकै भएको गाडी चालक चिच्यायो “मत काटो, जिभ जलेगी !”

पहिले त उसले के भन्न खोजेको हो भन्ने नै बुझिनँ तर उसले नटोक्नलाई रोकेको हो भन्ने चाहिँ बुझेँ । उसले भन्दै गर्दा मैले टोकिसकेकी थिएँ । झट्ट मुखबाट निकालेँ । 

उसले वास्तवमा मलाई बेलैमा सावधान गराएछ । नत्र त जिब्रो परप¥याएर पूरै लाटो हुने रहेछ । थोरै मात्र दाँत गाड्दा पनि जिब्रो र ओठ पोल्न थालिसकेका थिए । त्यो परपर¥याइ करिब एक हप्तासम्मै रहेथ्यो । उसले टोकेर काजु फुटाउनबाट रोकेर ठूलै उपकार गरेछ भन्ने लागिरहेको छ ।

रुखका फेदफेदमा पाकेर झरेका काजु थिए । केही टिपेर बोक्यौँ तर धेरै टिप्नलाई त डर भयो । अर्काको मुलुकमा गाली पो गर्ने हुन् कि भन्ने भयो । केबल हेर्नका लागि मात्र बटुलेथ्यौँ । 

निकै अग्ला थिए काजुका रुख । लगभग हाम्रो रुखकटहर र वर जस्ता । नजिकैको साइनबोर्डमा दुई किलोमिटर भित्र काजु फ्याक्ट्री रहेको लेखिएको थियो । यहाँसम्म आइपुगेपछि हेरौँ न त, फ्याक्ट्री कस्तो हुँदोरहेछ, कसरी यस्तो कडा खोलबाट निकाल्दो रहेछ, कसरी भुट्दो रहेछ, अनि प्राकृतिक रूपमै यस्तो मिठो हो कि अन्य केही मिठास मिसाइँदो हो, जस्ता खुलदुली मेट्न पनि कारखाना हेर्नैपर्ने भयो ।

दुई किलोमिटर त लेखिएको मात्र रहेछ । गाडीले दुई, तीन किलोमिटर पार गरेपछि फेरि अर्को साइनबोर्ड देखियो ‘काजु फ्याक्ट्री ज्यादा दूर नही है ।’ तर गाडीको इन्डिकेटरले दस किलोमिटरभित्र गुडेको देखाउँदा पनि फ्याक्ट्री नआएपछि हामी परिवार नै डरायौँ । भारतीय गाडी, भारतीय चालक, भारतीय भूमि, जङ्गलभित्र यति टाढा ! ओहो, जे पनि हुन सक्छ । 

कतै फ्याक्ट्री नै नभएर झुक्याएर लुटपाट गर्नका लागि पो यस्तो लेखेको हो कि ? होइन भने त दुई किलोमिटर लेखेकोमा दस किलोमिटर जाँदा पनि फ्याक्ट्री नआउनुको कारण के त ? फ्याक्ट्री हेर्ने इच्छा मारेर गाडी घुमाउन लगायौँ । फेरि कुनै अवसर मिलेछ भने हेरौँला भन्ने लगिरहेकै छ ।

काजुको सिङ्गो दाना पाकेपछि ल्यात्याक्क हुने रहेछ । त्यसभित्र कडा खोलमा गुदी हुने रहेछ । यसलाई निकालेर खान बाँदरले पनि सक्ने रहेनछ । त्यही भएर जङ्गलमा बाँदरका फौज नाचिरहेका थिए र पनि काजु सुरक्षित थियो । बाँदरका हातमा नरिवल भन्थे । मलाई त बाँदरका हातमा काजु भनेर पनि थप्न मन लागेको छ ।

गाडी फिर्काएपछि काजुको बारेमा गुगल सर्च गर्न मन लाग्यो । ‘एनाकार्डियल अक्सिडेन्टल’ वानस्पतिक नाम भएको काजु उष्ण हावापानी भएको क्षेत्रमा हुने मसलेदार फल रहेछ । भारत पनि काजु उत्पादनका लागि प्रसिद्ध नै रहेछ ।

काजु अनेक गुणकारी फल हो भन्ने त जानेकै हौँ । काजुबाट अल्कोहल (रक्सी) पनि बनाइँदो रहेछ । गोवामा पाइने फिनी नामको काजुको रक्सी निकै प्रसिद्ध रहेछ । गोवा घुमेर फर्किनेले साथमा लिएर आउने भए पनि बाटोमा रहेको प्रहरी पोस्टले खानतलासी गरेर ल्याउन नदिने रहेछ । 

त्यसरी निकालेर बाटोमुनि फ्याँकिएका बोतल र सिसीको डुङ्गुर लागेको देखिन्थ्यो । धन्न हामीले ल्याएको दुई बोतल फिनी चालकले बठ्याइँ गरेर लुकाइदिएथ्यो । प्रहरीले तलासी गर्दा पनि भेटाएन र ल्याउन पाइयो ।