दैलेखको महावु गाउँपालिका कालीकोट जिल्लासँग जोडिएको गाउँपालिका हो । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये साबिकका खरीगैरा, वडाखोला, रानीवन, गैँडावाज, काँसीकाँध मिलेर यो गाउँपालिका बनेको छ । महावुधाम यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधनपछि कार्यवाहक अध्यक्षका रूपमा काम गरिरहेकी तत्कालीन उपाध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डे नेपाली कांग्रेसबाट विजयी हुनुभएको थियो । महावु गाउँपालिकाको समग्र विकासका बारेमा गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले उहाँसँग गर्नुभएको कुराकानी :
निर्वाचन भएको दुई वर्ष पुग्यो । यो अवधिको कार्यकाललाई कसरी लिनुभएको छ ?
स्थानीय तहको निर्वाचन लड्दाका बखत गाउँपालिकाको अध्यक्षमा लछुमन गुरुङ र उपाध्यक्षमा म निर्वाचित भएका थियौँ । स्थानीय तहमा नयाँ भएका कारण धेरै कुरा सिक्ने अवसर प्राप्त हुँदै थियो । निर्वाचन भएको केही महिना नहुँदै २०७९ माघ २७ गते गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएपछि सबै जिम्मेवारी ममाथि आइप¥यो ।
निर्वाचन भएको नौ महिनासम्म सँगै काम गर्ने अवसर प्राप्त भयो । अध्यक्षको निधनपछि कार्यवाहक अध्यक्षका रूपमा काम गर्दा निकै चुनौती सामना गर्नु प¥यो । न्यायिक समितिको संयोजक, बजेट निर्माण, योजना अनुगमन समितिको संयोजकको भूमिका निर्वाहसँगै जनताका आधारभूत आवश्यकता पूरा गर्न रातदिन लागिपरेकी छु । हामीले निर्वाचनका बेला जनताबिच गरिएका प्रतिबद्धता अनुसार शिक्षा, खानेपानी, सडक, विद्युत्, स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।
जनताका आधारभूत आवश्यकता असीमित र बजेट सीमित हुने समस्याका कारण काम गर्न कठिन भएको छ । हामीले हाम्रो क्षमताले भ्याएसम्म नागरिकका पक्षमा काम गर्ने कोसिस गरेका छौँ । यो दुई वर्षको कार्यकाललाई सिकाइका रूपमा लिएका छौँ । बाँकी कार्यकाललाई उत्कृष्ट बनाउने योजना बनाएकी छु ।
गाउँपालिकाले शिक्षा सुधारका लागि के के काम गरेको छ ?
गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रत्येक विद्यालयमा आवश्यकता अनुसार शिक्षकको व्यवस्थापनसँगै ई हाजिरीको व्यवस्था गरेका छौँ । गाउँपालिकाले पञ्चवर्षीय शिक्षा योजना निर्माण गरी त्यसलाई कार्यान्वयन गरेका छौँ । शिक्षकको विद्यालयमा नियमितता छ वा छैन भन्ने विषयमा मासिक रूपमा अनुगमन गर्ने र विद्यालयलाई पृष्ठपोषण गर्ने काम गरेका छौँ । त्योसँगै शिक्षकलाई लेखा व्यवस्थापनलगायत उनीहरूको क्षमता विकासका लागि गाउँपालिकाले विभिन्न तालिम दिएको छ ।
गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्ने योजना कहाँ पुग्यो ?
गाउँपालिकाका छ वटै वडामा विद्युतीकरण गर्ने काम सम्पन्न भएको छ । विद्युत् विस्तारको काम गरेको भए पनि केही टोलमा विद्युत्का पोल गाड्न बाँकी छ । पोल गाडेसँगै गाउँपालिकाका सबै वडामा विद्युत् पुग्ने र यहाँका बासिन्दाले सहज रूपमा त्यसको प्रयोग गर्न पाउने छन् ।
कृषिका क्षेत्रमा गाउँपालिकाले के के काम गरिरहेको छ ?
हाम्रो मुख्य पेसा नै कृषि हो । हाम्रो पालिकाका अधिकांश बासिन्दाको मुख्य पेसा कृषि भएका कारण उनीहरूको आयआर्जनमा टेवा पु¥याउने खालका कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको छ । गाउँपालिकाका नागरिकलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरणा जगाउन उनीहरूलाई आवश्यकता अनुसारका तालिमसमेत सञ्चालन गरिएका छन् । गाउँपालिकाका सबै वडाको माटो परीक्षण गरेर माटो सुहाउँदो खेतीबाली के हुन सक्छ भनी कृषकलाई जानकारी गराइएको छ । त्यस्तै आलु तथा तरकारी पकेट क्षेत्र निर्धारण गरी चार वटा आलु तथा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा कृषि प्रदर्शनी मेला आयोजना गरी कृषकलाई उत्प्रेरणा जगाउन उत्कृष्ट कृषक सम्मान गरेका छौँ । गाउँपालिकाका नागरिकलाई ७५ प्रतिशत अनुदानमा बिउ वितरण गरेका छौँ । विभिन्न गैरसरकारी संस्थाको सहयोगमा जलवायु मूल्य शृङ्खला, कृषक साक्षरता कार्यक्रम, बिउ बैङ्क कार्यक्रममार्फत रैथाने बालीको संरक्षण, प्रवर्धन र पोषण सुधारका कार्यक्रम सञ्चालन गरेका छौँ ।
स्वास्थ्यका क्षेत्रमा गाउँपालिकाले के के कार्यक्रम सञ्चालन गरिरहेको छ ?
हामीले गाउँपालिकाभित्रका सबै बासिन्दालाई स्वस्थ राख्नु पर्छ भन्ने मान्यता साथ सहज रूपमा स्वास्थ्य सेवा दिन सुरु गरेका छौँ । गाउँपालिकाले चिकित्सक नियुक्त गरी नागरिकले सहज रूपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौँ । ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवासँगै एम्बुलेन्स सेवा दिएका छौँ । गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् भने महिलाको पाठेघर खस्ने शिविर र पुरुष बन्ध्याकरण शिविरसमेत सञ्चालन गरेका छौँ ।
गाउँपालिकामा निर्माण गर्न लागिएको १० शय्याको अस्पताल निर्माण नहुँदै चर्किएको देखियो नि ?
गाउँपालिकामा निर्माण हुन लागेको १० शय्याको अस्पताल निर्माण गर्दा त्यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा नै समस्या देखियो । डिपिआर अनुसार ठेक्का भयो र त्यसै अनुसार ठेकेदारले निर्माणको काम गरेको थियो । ढलानको लोड धान्न नसकेका कारण ढलान भएको केही समयमै चर्कियो । ढलान चर्किएपछि हामीले सम्बन्धित निर्माण कम्पनी बोलाएर छलफल ग¥यौँ । त्यसको समस्या समाधान गर्न पहल भयो र अहिले यो समस्या समाधान भइसकेको छ ।
गाउँपालिकाको आफ्नै प्रशासकीय भवन अहिलेसम्म निर्माण हुन सकेको छैन, किन ?
हामीले गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न निःशुल्क जग्गादानका लागिव नागरिकलाई सूचना जारी ग¥याँै । त्यही अनुसार गर्न जग्गादाताले जग्गा उपलब्ध गराएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाका नाममा लालपुर्जा तयार भएपछि भवन निर्माण थाल्छौँ ।
गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग कसरी समन्वय र सहकार्य गरिरहेको छ ?
सङ्घ र प्रदेश सरकारसँग समन्वय हुन नसक्दा विकास निर्माणका काममा निकै कठिन भएको छ । संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्व अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य हुनुपर्ने भए पनि अहिलेसम्म त्यो हुन सकेको छैन । हाम्रो जिल्लाबाट सङ्घीय सरकारमा मन्त्री छैनन् । जुन जिल्लाका मन्त्री भए सोही जिल्लामा बढी योजना र बजेट जाने प्रवृत्तिले सङ्घीयता कमजोर बनाउने काम भइरहेको मैले अनुभव गरेको छु । प्रदेश सरकारका गतिविधि पनि उस्तै छन् । यसले गर्दा हामीले राखेका माग सम्बोधन गर्ने काम सङ्घ र प्रदेश सरकारबाट हुन सकेको छैन ।