• १२ साउन २०८१, शनिबार

पर्यटकको रोजाइमा ताचै

blog

मनाङको ताचै होमस्टे गाउँमा पर्यटकलाई स्वागत गर्दै आमा समूह ।

मनाङ समाचारदाता

ताचै, वैशाख १० गते । वसन्त ऋतुमा मनाङ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुन्छ । वसन्तको हरियालीसँगै ढकमक्क फुलेका लालीगुराँस, सेता हिमाल र सफा मौसम पर्यटकका लागि पहिलो रोजाइमा पर्ने गर्दछ । 

यतिबेला प्रायः होटल पर्यटकले भरिभराउ नै हुने गरेका छन् । बेसिजनमा भने सबै होटल प्रायः बन्द नै हुन्छन् । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेको छ । 

सुविधासम्पन्न होटलमा बस्न रुचाउने पर्यटक नै घरबास रोज्ने गर्दछन् । ताचैमा सञ्चालन गरेको घरबास आकर्षक बन्न थालेको छ । नासोँ गाउँपालिका–८ स्थित ताचै घरबास सस्तो हुनुका साथै स्थानीय परिकारका कारण पर्यटक आकर्षित हुने गरेको बताइन्छ । 

महँगो होटलमा धेरै पैसा तिरेर खचाखच गरी बस्नुभन्दा स्थानीय उत्पादनको स्वाद चाख्दै सस्तोमा बस्न रुचाउने पर्यटकले ताचै घरबास रोज्ने गरेका हुन् । हिजोआज मनाङ आउने पर्यटकको रोजाइमा ताचै घरबास पर्ने गरेको व्यवसायी बताउँछन् । 

यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीय रूपमा उत्पादित खानाका परिकार दिने गरिएको नासोँ–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घलेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटक तथा पाहुनालाई स्थानीय उत्पादन भएको खाद्यवस्तु खुवाउँछौँ । पानीघट्टमा पिसेको वस्तुको प्रयोग गर्छौं, आफ्नै बारीमा उत्पादित सागपात, कोदो, तरकारी उपयोग गर्छौं ।”

पर्यटकलाई जैविक खानेकुरा खुवाउनका लागि स्थानीय कृषि कर्ममा जोडिएका छन् । अहिले ताचै गाउँमा हरियाली गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै गोड्ने तथा बोडी लगाउने समय भएको छ ।

खानपान तथा बसोबासले मात्र नभई यहाँको संस्कार र संस्कृति, हावापानी र प्राकृतिक सम्पदाले पनि पर्यटकलाई आकर्षित गराएको छ । घरबासबारे अध्ययन गर्नकै लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । 

धेरै खाद्यान्न उत्पादन नभए पनि पाहुनालाई पुर्‍याउने गरी उत्पादनमा जोड दिइएको घरबासका सदस्य शारदा गुरुङले बताउनुभयो । घरबासले महिलाका साथै गाउँलाई आयस्रोतसँग जोडेको उहाँले बताउनुभयो । 

गाउँका २६ घरधुरीमा घरबास सञ्चालनमा रहेको समाजसेवी हुपजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँले एक सयदेखि १५० जनासम्मको क्षमता रहेको ताचै घरबास विदेशी पर्यटकसमेतको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । उनीहरूले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पर्यटकलाई स्वागत गर्ने गर्दछन् । पर्यटकलाई यहाँको लोकसंस्कृति, नाचगानसँगै प्राङ्गारिक खाना खुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलुलगायतका खाना मन पराउने गरेको पाइन्छ ।