• ८ मंसिर २०८१, शनिबार

कतारका अमिरको भ्रमणमा विपिन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन ।

महेन्द्रनगर (कञ्चनपुर), वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेन्डामा राखिएको बताउनुभएको  छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताउनुभयो । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुकतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भन्नुभयो, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग गरेको छु ।”

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरूले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उहाँको भनाइ थियो ।

त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई, व्यावहारिक, जीवन उपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताउनुभयो ।

“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटि प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।”

शिक्षासम्बन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्चशिक्षा प्रदान गरी उनीहरूको जीवनमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिनुभयो ।

सो क्रममा विश्वविद्यालयमा विभिन्न पदक प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डले पदक वितरण गर्नुभयो । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति सुमना श्रेष्ठ, भारतको उत्तराखण्डस्थित कुमाउँ विश्वविद्यालयका प्राध्यापक दिवानसिंह रावतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित भएको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । रासस