• २० वैशाख २०८१, बिहिबार

अफ्रिकी किशोरी भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँ

blog

चार महिनाअघि नेपाल आएका अफ्रिकी किशोरीहरु ।

काठमाडौँ, वैशाख ७ गते । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो । 

रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उहाँको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उहाँसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उहाँको दिमागमा खेलिरहेको थियो । यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थाल्नुभयो । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उहाँको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उहाँ आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने हुनुभएको छ ।

स्काउटमार्फत नेपाल आएकी उहाँले चार महिनामै नेपाली भाषा र संस्कृति सिक्नुभएको छ । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिनुहुन्छ । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।” क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मीयता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरूसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उहाँले नेपाली शब्द कोषसमेत बटुल्न थाल्नुभएको छ । यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आउनुभएको छ । 

घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरूले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभवसमेत विद्यालयहरूमा पुगेर सुनाउने गर्नुभएको छ । उहाँसँगै रेश्मा सलिम मलावीबाट आउनुभएको छ । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो ? उहाँलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उहाँको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राख्नुभएको उहाँले सुनाउनुभयो ।

रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउँदा नेपालप्रति उहाँमा आत्मीय भाव छ । “म मावली छेउमै छु जस्तो लागेको छ”, उहाँ थप्नुहुन्छ, “कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।” मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित हुनुहुन्छ । केही सुन्दरता तस्बिरमा कैद गर्नुभएको छ । घानाबाट आउनुभएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे । स्काउटले किशोरीलाई सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरूँ गोसाईंले जानकारी दिनुभयो ।

यस ‘गर्ल्स मुभमेन्ट’(एसस)की नेपालको संयोजकसमेत रहनुभएकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट (वजम) र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस (वाग्स) । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो यूथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छ ।

विभिन्न देशका स्काउटहरू स्वयंसेवकमा आएर एक अर्काको देशमा अनुभव बटुल्ने गर्छन् । यसै अन्तर्गत यस पटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वयंसेविका रूपमा नेपाल आएका हुन् । उनीहरूले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्ने छन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले पाँच पुर्‍याइएको छ । 

सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो । सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरू विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरू सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्त्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामूलक कार्यक्रमहरू पनि गर्छन् । यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमूलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरू दिइन्छ र सिकाइन्छ । 

यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ । तुलनात्मकरुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताउनुभयो । रासस