• २० वैशाख २०८१, बिहिबार

रानीगन्जमा तरकारी बजार राख्ने योजना छ

blog

पूर्वपश्चिम राजमार्गमा अवस्थित लालबन्दी नगरपालिका शिक्षा, स्वास्थ्य र अन्य सुविधामा तुलनात्मक रूपमा सर्लाहीका २० स्थानीय तहमध्ये विकसित मानिन्छ । पछिल्लो समय जिल्लाभरमा बासस्थान, शिक्षाका लागि जिल्लावासीको प्रमुख रोजाइमा पर्न थालेको छ । यसले गर्दा बढ्दो जनघनत्व विकासका दृष्टिले चुनौतीपूर्णसमेत बन्दै गएको छ । तराईका फाँटदेखि चुरेको पहाड सिन्धुलीसँग सीमा जोडिएको यस नगरपालिकाले २३८.५ वर्गकिलोमिटर (जिल्लाकै सबैभन्दा ठुलो) क्षेत्र ओगटेको छ । १७ वटा वडा रहेको यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट वासुदेव अधिकारी हुनुहुन्छ । प्रस्तुत छ, प्रमुख अधिकारीसँग गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले गर्नुभएको कुराकानी :

जनप्रतिनिधिका रूपमा गर्नुभएको प्रमुख काम के के हुन् ?

निर्वाचित भएर आउनासाथ सुरुमा ऐलानी जग्गालाई नम्बरी गराउने प्रयास गरेँ । त्यसमा कार्यपालिकाको पनि पूर्ण समर्थन रह्यो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता अनुसार गत भदौमा नै सबै वडामा जग्गा नापजाँचको काम पूरा भइसकेको छ । तीमध्ये धमाधम जग्गाधनी पुर्जा (लालपुर्जा) तयार पारेका छौँ तर वन ऐन र अन्य कानुनी अल्झनका कारण वितरणमा समस्या परिरहेको छ । त्यसका लागि माथिल्लो निकायमा पहल गरिरहेका छौँ । 

हामी आएपछि कृषि क्याम्पस स्थापनाका लागि काठमाडौँ विश्व विद्यालयसँग सम्झौता भएर काम अघि बढेको छ । यसका लागि हामीले प्रधानमन्त्रीसम्मलाई भेटेर साथ, सहयोग र समन्वयका लागि ज्ञापनपत्र बुझाएका छौँ । सर्लाहीकै सीमावर्ती क्षेत्र त्रिभुवननगरदेखि लालबन्दी हुँदै सिन्धुलीको दुम्जासँग सडक निर्माणका लागि पहल जारी छ । रणनीतिक यो सडक निर्माण गर्न सकिए काठमाडौँ र तराईको दुरी ७० किलोमिटर छोटो पर्छ । यसले पर्यटकीय विकास र उत्तरका सामग्री दक्षिणमा तथा मधेशका दाल, चामलसहितका खाद्यान्न उत्तरमा सहज रूपमा आपूर्ति गर्न सकिन्छ । यो सडक निर्माणका लागि सिन्धुलीका पालिका र सांसदसँग पनि समन्वय गरिरहेका छौँ । 

शिक्षातर्फ के भएका छन् ?

शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै प्रधानाध्यापकलाई परीक्षा लिएर पदस्थापन गरेका छौँ । प्रअको व्यवस्थापनसँगै प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको अवधारणा अघि सारेका छौँ । जनज्योति माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालयसहितका केही विद्यालय जिल्लामै अब्बल बन्दै गएका छन् । यी विद्यालयमा भर्ना हुन पनि प्रवेश परीक्षा दिनुपर्ने अवस्था छ । अन्य सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ । 

सामुदायिक विद्यालयप्रति विश्वास बढेको महसुस गरेका छौँ । यहाँ कृषि क्याम्पस स्थापना गर्न सकिएमा लालबन्दी नगर शिक्षाको केन्द्र बन्ने निश्चित छ । त्यसका लागि काठमाडौंँ विश्वविद्यालयसँग समन्वय जारी छ । कृषि क्याम्पस खोल्न सकिएमा मधेशको कृषि, उद्योग, पर्यटन, वातावरण र वन क्षेत्रको विकासमा टेवा पुग्ने छ । कृषि विश्वविद्यालय खोलेर छिमेकी मुलुक भारतबाट समेत विद्यार्थी आउने वातावरण बनाउने उद्देश्य छ । विश्वविद्यालय स्थापनार्थ वडा नं. १६ परवानीपुरमा जग्गासमेत खोजी गरिएको छ । यहाँ कृषि विश्वविद्यालय खोल्न काठमाडौँ विश्वविद्यालय निकै सकारात्मक रहेको पाएका छौँ । 

पछिल्लो समय लालबन्दीको नगर अस्पतालमा बिरामीको चाप थेग्न मुस्किल परेको अवस्था छ । अस्पतालको व्यवस्थापनमा नगरबाट के कस्ता प्रयास भइरहेको छ ?

नगर अस्पतालमा शल्यव्रिmयामार्फत प्रसूति सेवा दिन थालेपछि चाप बढेको हो । नगरपालिकाबाटै स्त्री तथा प्रसूति रोग विशेषज्ञ नियुक्त गरेसँगै अस्पतालमा धेरै सुधार भएको महसुस गरेका छौँ । प्रसूति सँगसँगै ओपिडीमा पनि चाप बढ्दो छ । हामीले चार जना चिकित्सक राखेका छौँ । अन्य आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्था गरिएको छ । अस्पतालप्रतिको यो विश्वास र बढ्दो चापले हामीलाई उत्साहित बनाएको छ । 

सरकारी अस्पतालप्रति हेर्ने दृष्टिकोण फेरिएको भान भइरहेको छ । अस्पताललाई आवश्यक पर्ने उपकरण र जनशक्तिको निरन्तर व्यवस्थापन गरिरहेका छौँ । प्रसूतितर्फ शल्यव्रिmयाका लागि आवश्यक पर्ने उपकरण नगरले नै व्यवस्था गरेको हो । पाँच श-याको अस्पताललाई १५ श-याको बनाएका छौँ । भखरै रक्तसञ्चार केन्द्र पनि स्थापना गरेका छौँ । अस्पतालमा विशेषज्ञ चिकित्सक राखेपछि अहिले नगरपालिकाभित्रका जत्तिकै बिरामी अन्य पालिकाबाट सेवा लिन आउन थाल्नुभएको छ । 

लालबन्दी नगरपालिका कृषिका लागि पनि प्रख्यात छ तर यहाँ सिँचाइको समस्या धेरै नै छ । सिँचाइको व्यवस्था गर्न के पहल भइरहेको छ ?

यो नगर सुक्खा क्षेत्रमा पर्छ । निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन सञ्चालनमा आएपछि सिँचाइ सुविधा आउने आसमा छौँ तर यसप्रति त्यति आशावादी त छैनौँ । अग्लो भूभागमा पर्ने भएकाले यो आयोजनाले पनि हाम्रो अधिकांश भूभाग नसमेट्ने चिन्ता छ । अहिलेको सर्भेले पनि चुरे क्षेत्र नसमेटेको पाएका छौँ । उत्तरतर्फलाई पनि समेट्न हाम्रो प्रयास त जारी नै छ । अहिले हामीसँग भएको स्रोतलाई परिचालन गरेर लखन्देही र कालिन्जोर खोलामा स्थायी बाँध बाँध्ने काम गर्दै छौँ । त्यसका लागि यसै वर्ष डिपिआर तयार पार्ने निर्णय नगर सभाबाट पारित गरिसकेका छौँ । 

खानेपानीको समेत चरम समस्या रहेको उत्तरी भेगमा वडा तथा नगरको बजेट र विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी काम गरिरहेका छौँ । लालबन्दी खानेपानी उपभोक्ता संस्थाले धेरै वडामा खानेपानी पु¥याएको छ । वडा नं. १६ परवानीपुर क्षेत्रमा भर्खरै विभिन्न खानेपानी आयोजना सञ्चालनमा आएको छ । वडा नं. १४, नारायण खोलामा केही घरधुरीमा खानेपानीको धारा झारेका छौँ । चुरे भेगमा विशेष गरी भूमिगत खानेपानी नआउने हुँदा डिप बोरिङ गाड्न सकिरहेका छैनौँ । 

लालबन्दी तरकारी उत्पादनका लागि निकै प्रख्यात छ । तरकारी, किसान र बजार व्यवस्थापनका लागि कस्तो किसिमको पहल भइरहेको छ ?

तरकारी खेती गर्ने किसानलाई कृषि विकास शाखामार्फत बेला बेलामा तालिम दिने काम भइरहेको छ । त्यसबाहेक हाम्रा कृषि प्राविधिकले आवश्यक सरसल्लाह दिइरहेका हुन्छन् । बजार व्यवस्थापनको हकमा लालबन्दी क्षेत्रमा शीतभण्डार राख्न पहल गरिरहेका छौँ । शीतभण्डार सञ्चालन गर्न पाए किसानले उत्पादन गरेको तरकारी तत्कालै सस्तो मूल्यामा बिक्री गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ । हामी वडा नं. १७, रानीगन्जमा तरकारी बजार राख्ने तयारीमा छौँ । त्यसका लागि तीनै तहका सरकारबाट बजेटसमेत विनियोजन भएर काम अघि बढिसकेको छ । 

रानीगन्जमा पर्याप्त गुठी जग्गा रहेको र त्यसै जग्गामा तरकारी बजार राख्ने योजना छ । त्यहाँ बजार राख्न सकिएमा पूर्वतर्फको तरकारी त्यहाँ र पश्चिमतर्फको तरकारी लालबन्दी बजारमै बिक्रीवितरण हुने छ । लालबन्दी बजारको चाप पनि कम हुने विश्वास लिएका छौँ । यहाँ दुवैतर्फ बजार भएमा गोलभेँडाको सहर मात्रै नभएर बोडी, भिन्डीलगायत अन्य तरकारीको सहरका रूपमा लालबन्दीलाई चिनिने थियो । रानीगन्जमा कृषि बजार राख्न पाए पूर्वी भेगका किसानको आधा समस्या समाधान हुने र अहिलेभन्दा बढी आम्दानी हुने विश्वास लिएका छौँ । 

अबका मुख्य योजना के के रहेका छन् ?

मैले परिकल्पना गरेको कृषि क्याम्पस, त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा सडकसहितका योजना सफल भएमा नगरवासी र यस क्षेत्रका सबैको कल्याण हुने विश्वास लिएको छु । सुरु गर्दाको चरणमा काम नदेखिएका हुन् । सुरुवात भएकाले बाहिर झट्ट हेर्दा केही नभएको जस्तो देखिए पनि जग बसाउने काम भएका छन् । यसमा समग्र नगरवासीसहित सबै सरोकारवालाको साथ, सहयोगको अपेक्षा गरेको छु । लालबन्दीले प्रस्ताव गरेका योजना सफल भए समग्र मधेश प्रदेशकै प्रगति हुने निश्चित छ । यसमा सबैले अपनत्व लिइदिनु प-यो ।