शंकर केसी
शारदा (सल्यान), असोज २ गते । सल्यानका दुई स्थानमा कल्भर्ट निर्माण योजना अलपत्र पर्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा ४ स्थित लंकिनी खोलामा काठेपुल विस्थापन गरी पक्की कल्भर्ट निर्माण योजना सञ्चालन गरिएपनि योजनाले पूर्णता नपाउँदा समस्या उत्पन्न भएको हो ।
स्थानीय पूर्वाधार विकास कार्यालय, सुर्खेतमार्फत ठेक्का प्रक्रियाबाट लैसे जयचौर मोटरबाटो अन्तर्गत नरदुलामा एउटा र धनेखेली भन्ने स्थानमा एउटा कल्भर्ट निर्माण भएका छन् । तर निर्माण कम्पनी विवेक विशाल कन्ट्रक्शन प्रालिले स्टमेट अनुसार कल्भर्टको वरपर पक्की स्लयाब निर्माण नगरिदिँदा वर्षायाममा सवारीसाधन आवतजावतमा निकै कठिनाई भैरहेको छत्रेश्वरी ४ का निवर्तमान वडा अध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्ल्याब हालेको छैन । कल्भर्टको वरपर चार–चार मिटर लम्बाईको स्ल्याब राख्नुपर्ने थियो । तर काम अलपत्र छाडेर ठेकेदार गएपछि गाडी सञ्चालनमा कठिनाई भएको छ, हामीले सास्ती भोग्नुभरेको छ ।”
स्थानीय यातायातको सुधारसँगै वर्षायाममा आवागमनमा पर्ने समस्या समाधानको उद्देश्यसहित छत्रेश्वरीका दुई स्थानमा कल्भर्ट तथा त्रिवेणी गाउँपालिकामा सडक स्तरबृद्धिका लागि स्थानिय पुर्वाधार विकास कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१-०८२ मा दुई करोड विनियोजन गरेको थियो । उक्त योजना कार्यान्वयनका लागि एक करोड आठ लाख रुपियाँमा सम्झौता गरिएको भन्दै विवेक विशाल कन्ट्रक्शन प्रालिका प्रतिनिधी वसन्त किरण बस्नेतले समय अभाव र वर्षायामका कारण पुरै काम गर्न नसकिएको बताउनुभयो ।
“वैशाखमा सम्झौता भएको हो, दुई महिनामा काम सक्नुपर्ने अवस्था थियो, वर्षा लागिसकेकाले स्ल्याब निर्माण गर्न सकेनौ”, उहाँले भन्नुभयो । आफूहरुले ९० प्रतिशत काम सम्पन्न गरेको भन्दै उहाँले मूल्याङ्कन भएको रकम मात्र कार्यालयले भुक्तानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई पालिकाको निर्माण कामको ९८ लाख मात्रै कम्पनीले भुक्तानी पाएको हो ।
स्थानीय पूर्वाधार विकास कार्यालय, सुर्खेतले समय अभावका कारण योजनाले पूर्णता नपाएको भन्दै बाँकी काम सम्पन्न गर्नका लागि संघीय मन्त्रालयमा विवरण पठाइएको जनाएको छ । कार्यालयका इन्जिनियर प्रकाश बस्यालले गर्न खोज्दा खोज्दै पनि योजना सम्पन्न हुन नसकेको बताउनुभयो । “कार्यालय प्रमुख विहिनको अवस्थामा गत पुस, माघतिर मात्रै प्रमुख आउनुभएपछि स्टमेट तयार लगाएतका काम सकेर हामीले ठेक्का खोलेका थियौँ । समय अभावले योजनाले पूर्णता पाउन नसकेको हो”, उहाँले भन्नुभयो, “यस्ता अलपत्र परेका योजनाका सन्दर्भमा समिक्षा बैठकमा देशैभरीका कार्यालय प्रमुखहरुले कुरा राख्नुभएको छ । मन्त्रालयमा विवरण पठाएका छौँ ।”
स्थानीयहरुले ठेकेदारले योजना अलपत्र पारेर गएको आरोप लगाएपनि निर्माण कम्पनीले समय अभावले स्ल्याब निर्माण मात्रै गर्न नसकिएको र १५ दिन समय लगाएर टाढाबाट माटो ल्याएर करिव नौ फिट माटो भाटेर कल्भर्ट वरिपरी बाटो बनाइएको जनाएको छ ।