काठमाडौँ, असोज २ गते । पाकिस्तान एसिसी टी–२० एसिया कपको सुपर चारमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो ।
जितसँगै समूह ‘ए’ मा तीन खेलबाट चार अङ्क बनाएको पाकिस्तान दोस्रो स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको युएईले प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट यसअघि नै भारत सुपर चारमा पुगिसकेको छ ।
जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो ।
युएईका लागि राहुल चोपराले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफुले १२ रन जोड्नुभयो ।
बलिङमा पाकिस्तानका अब्रार अहमद, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा सइम अयुब र कप्तान सलमान आगाले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेटका क्षतिमा एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ५० रन बनाउनुभयो ।
यस्तै शहिन शाह अफ्रिदीले अविजित २९, सलमान आगाले २० र मोहम्मद ह्यारिसले १८ रन जोड्नुभयो । बलिङमा युएईका लागि जुनैद सिद्धिकीले चार विकेट लिनुभयो । समरजित सिंहले तीन तथा ध्रुव पराशरले एक विकेट झार्नुभयो । एजेन्सी