रामकृष्ण बोहरा
बागलुङ, असोज २ गते । संविधान दिवसको अवसरमा उच्च अदालत बार एकाइ बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
संविधान दिवस मूल समारोह समितिले तीन दिनसम्म दिवश मनाउने निर्णय गरेअनुसार बारले फलफूल वितरण गरेको हो । सो अवसरमा मूल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विविध कार्यक्रममार्फत दिवस मनाउन लागेको जानकारी दिनुभयो ।
२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । कार्यक्रममा नागरिकको स्वास्थ्यको अधिकारलाई संविधानले सम्बोधन गरेकाले ती विषयमा सरोकारवालाले कार्यान्वयनको क्षेत्र हेर्नुपर्ने बताउनुभएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले अस्पतालले दिएको सेवाबारे जानकारी दिनुभयो । उच्च अदालत बार एकाइ बागलुङकी अध्यक्ष गीता श्रीषको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा वरिष्ठ अधिवक्ताहरू, बारका पूर्व अध्यक्ष समेतको सहभागिता थियो ।