• २० वैशाख २०८१, बिहिबार

सोह्र विद्यालय समायोजन

blog

सानीभेरी गाउँपालिका कार्यालय । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख ५ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले विभिन्न १६ विद्यालयलाई समायोजन गर्ने भएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालयलाई समायोजन, तह तथा कक्षा घटुवा र विद्यालयको शाखा विस्तार गरिने भएको हो । 

गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी १६ वटा विद्यालय समायोजनको निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११–१२ सञ्चालित चार वटा विद्यालयलाई कक्षा १० सम्म कायम गरिएको छ । शीतल मावि पक्रैया, बालज्योति मावि गिठाकोट, सूर्योदय मावि बेल्टापु र जनज्योति मावि मेलचौरलाई कक्षा १० सम्म समायोजन गरिएको हो । बैठकले भेरी दोभान मावि चाइनाबगरलाई कक्षा ९–१२ बाट कक्षा ८ सम्म कायम गरेको छ । 

मालिका पहाड आधारभूत विद्यालय बसनडाँडा र बालकल्याण आधारभूत विद्यालय सिलटाकुरीलाई १–३ बाट प्रारम्भिक बालविकास केन्द्रमा समायोजन गरिएको छ । अध्यक्ष विष्टका अनुसार दीपज्योति आधारभूत विद्यालय चौखे, अमरज्योति आधारभूत विद्यालय सल्लीचौर, चन्द्रोदय आवि सहरे र जनसहयोग आधारभूत विद्यालय माथिल्लो आमडाँडालाई कक्षा १–५ बाट कक्षा १–३ सम्म समायोजन गरिएको छ । 

गाउँ शिक्षा समितिले गरेको निर्णयका आधारमा कार्यपालिका बैठकले समायोजनको निर्णय गरेको हो । कार्यपालिकाको निर्णय अनुसार कक्षा ९–१० सञ्चालित तीन वटा विद्यालयलाई कक्षा ८ सम्म समायोजन गरिएको छ । जनप्रिय मावि हाँसिबाङ, सरस्वती मावि चिन्तु र शिव मावि काफलबोटलाई कक्षा ८ सम्म कायम गरिएको हो । बैठकले ज्ञानज्योति आवि टिमुरबोटलाई कक्षा १–३ बाट प्रारम्भिक बाल विकास केन्द्रमा र बालकल्याण आवि पाखेरोललाई कालिका आविको शाखाका रूपमा विस्तार गर्ने निर्णय गरेको छ । 

विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकहरूको दरबन्दी, विद्यालय–विद्यालयबिचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको हो । सङ्घीय सरकारबाट अनुदान थप नभएको र गाउँपालिकाबाट समेत थप दरबन्दी प्रदान गर्न नसकिने अवस्था भएकाले विद्यालय समायोजन गरिएको जनाइएको छ । 

गाउँपालिकाका शिक्षा शाखा अधिकृत भूपालसिंह विष्टका अनुसार कार्यपालिका बैठकले समोयाजन भएका विद्यालयका शिक्षकलाई गाउँपालिकाको दरबन्दीमा राखेको छ । शाखा अधिकृत विष्टले कक्षा ९–१० सञ्चालन भई कक्षा ८ मा समायोजन भएको विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा १० लाई निरन्तरता नदिने र कक्षा ९ मा नयाँ भर्ना रोक्का गरिने बताउनुभयो । 

त्यसै गरी कक्षा ११–१२ सञ्चालन भई कक्षा १० मा समायोजन भएका विद्यालयमा कक्षा १२ लाई शैक्षिक सत्र २०८१ निरन्तरता दिने र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने, प्राविधिक विषय सञ्चालित विद्यालयमा हालको कक्षा १० र १२ लाई निरन्तरता दिने र कक्षा ९ र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको छ ।