जाजरकोटको विकट क्षेत्र मानिने जुनीचाँदे गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारका क्षेत्रमा काम केन्द्रित गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट पालिका अध्यक्ष हुनुहुन्छ, वेदबहादुर शाही । जनप्रतिनिधिका रूपमा दुईबर्से अवधिका आफ्नो भोगाइबारे अध्यक्ष शाहीले खुलेर कुराकानी गर्नुभयो । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका जाजरकोट समाचारदाता सहदेव बस्नेतले गर्नुभएको कुराकानी :
अध्यक्षका रूपमा दुईबर्से अवधिको अनुभव र आफ्नै मूल्याङ्कन बताउनुुस् न ।
निर्वाचित भएर आएदेखि विगतमा सञ्चालनमा आएका प्रभावकारी र महत्वपूर्ण कार्यव्रmम तथा योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले विकासको अपेक्षा धेरैतिरबाट आउने र बजेटको सीमितताले गर्दा माग र योजना अनुसारको कार्य गर्न नसकिने वास्तविकता रहेको अनुभव रह्यो । जनताको काम गर्न निर्वाचित भएकाले रातदिन नभनेर जनसेवामा खटिँदा आफूलाई आनन्द अनुभूति हुने गरेको छ ।
अहिलेसम्म तपाईंले गर्नुभएको महत्वपूर्ण काम के हो भन्ने लाग्छ ?
पालिकाका ११ वटा वडामध्ये वडा नं. ७ बाहेक सबै वडामा सडकको ट्र्याक खोलिएको छ । शिक्षाको आवधिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यस अन्तर्गत आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रम तयार पारी अध्यापन थालिएको छ । सबै वडा कार्यालयका भवन निर्माण गरी सेवा प्रवाह गरिएको छ । सवै वडामा कृषि उत्पादनका लागि माटो परीक्षण गर्नुका साथै फलफूल तथा कोसे बाली पकेट क्षेत्र निर्धारण गरिएको छ । यसमा ओखर, सुन्तला मुख्य फलफूलका रूपमा छन् । आफ्नो कार्यकालमा चार वटा बर्थिङ सेन्टर थपेर सेवा प्रवाह गरिएको छ । नौ गर्भवती आमालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको कार्यलाई महत्वपूर्ण घटनाका रूपमा लिएको छु ।
गाउँपालिकाको आवश्यकता, समस्या र चुनौती के देख्नुभयो ?
आवश्यकताका हिसाबले पालिकामा सबै वडामा वर्षभरि यातायातका साधन चल्ने खालका सडकको स्तरवृद्धि र विद्युतीकरण मुख्य रूपमा छन् । हालसम्म पनि सडकको साँघुरो र कच्ची अवस्थाले गर्दा बस सेवा सञ्चालन नहुँदा साना जिपमा यात्रा गर्दा यात्रु निकै आर्थिक मर्कामा परेका छन् । युवा बेरोजगारी पनि निकै चुनौतीका रूपमा रहेको छ ।
गाउँपालिकामा आन्तरिक स्रोतसाधन परिचालनको अवस्था कस्तो छ ?
पालिकाको आफ्नै आन्तरिक स्रोतको अवस्था निकै कमजोर छ । चालु आर्थिक वर्षमा पालिकाको आफ्नो आन्तरिक आयको प्रक्षेपण २० लाख रुपियाँ गरिएकोमा हालसम्म १२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ । यसमा सिफारिस कर, मालपोत करलगायतबाट आम्दानी भएको थियो । पर्यटन, कृषि, खानीलगायतबाट आम्दानी बढाउने लक्ष्य राखिएको छ ।
आगामी लक्ष्य, सोच, योजना के रहेको छ ?
सबै निकायसँगको सहकार्यमा हाम्रा गतिविधि अघि बढाउन साझेदारी र समन्वयको प्रक्रिया अघि बढाइने छ । पर्यटन र कृषिमा आधुनिकीकरण गरी आयआर्जन वृद्धि गरिने छ ।
गाउँपालिकाको विकासमा सङ्घ र प्रदेशसँगको समन्वय र सहकार्य कस्तो छ ?
विकास निर्माणलगायत अन्य नीतिगत सवालमा तिनै तहका सरकारबिच आपसी समन्वय र सहकार्यको अवस्था सुमधुर रहेको छ । विकास निर्माणका योजना सिधै माथिबाट तोकिएर आउने र पालिकाबाट पठाइएका योजनाले प्राथमिकता नपाउने स्थिति पनि छ तर समन्वय र सहकार्यमा त्यसको समाधान गर्दै आइरहेका छौँ ।
भूकम्पपछिको अवस्था कस्तो छ ?
भूकम्प गएलगत्तै पालिकाबाट स्थानीयका समस्यालाई ध्यानमा राखी तत्काल राहत, उद्धार र खाद्यान्न तथा गैरखाद्यान्नको व्यवस्थापन गरियो । भूकम्पले गर्दा यो पालिकामा पनि निकै प्रभाव पारेको छ । पाँच हजार ४०६ घरधुरी प्रभावित भएकामा अहिले अस्थायी आवास निर्माणको काम सम्पन्न हुने चरणमा छ । भूकम्पपीडित पुनर्निर्माणको आशामा छन् । पुनर्निर्माण कार्य छिटो अघि बढाएर पीडितलाई पक्की आवासमा बस्न पाउने व्यवस्थाको माग गर्दछौँ ।
पालिकालाई आर्थिक रूपले टेवा दिने महत्वपूर्ण पत्थर खानी यहाँ छ, त्यसबाट पालिकालाई केही आर्थिक योगदान गरेको छ कि ?
यस पालिकाको वडा नं. ७ मा रहेको जुर्क निपाने नेपालमै प्रख्यात पत्थर, टुर्मालिन, काइनाइट, क्वार्ज आदि प्रशस्त खानी रहेका छन् । विडम्बना, उत्खननको अधिकार दिने निकाय सङ्घीय सरकार भएकाले यसमा पालिकाको कुनै भूमिका छैन । तसर्थ हामीले यसबाट प्रत्यक्ष आम्दानी लिन सकेका छैनौँ तर यसलाई व्यवस्थित गरेर पालिकालाई पनि यसको आम्दानीको स्रोत बनाउनेतर्फ हामीले आवश्यक प्रक्रिया अघि बढाइरहेका छौँ ।