काठमाडौं, वैशाख २ गते । स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बितिमले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताउनुभयो ।
“अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा बिमितले अनावश्यक स्वास्थ्य परीक्षण नगराउने र बिरामी भएका बिमित मात्र स्वास्थ्य बिमाबाट लाभान्वित हुनेछन् ।”
स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बितिमले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने व्यवस्था लागू गरेको हो ।
बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उहाँले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाई सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताउनुभयो ।
कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ ।
बिमा कार्यक्रममा कूल बिमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल बिमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । रासस