रत्न दाइ गरिब थिए तर खुसी नै थिए । वास्तवमा मानिस गरिबीले दुःखी हुने होइन । दुःखी हुने कारक अरू अनेकौँ छन् । खानै नपाएर कुन चाहिँ जनावर मरेको छ र
पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कंदै गरेका । रत्ना भाउजू बिहान बेलुकी गाईलाई घाँस काट्थिन् । उनीहरू लगभग दिनको दुई पाथी दुध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दुध बेच्छन् ।
सहर विस्तारले गर्दा काँठतिरको जग्गा किनबेच हुन थालेको धेरै भयो । रत्न दाइले जग्गाको काम गर्न थाले । सहरको जग्गा सक्किँदै गए । अझ भूकम्पपछि त मानिस उपत्यकामा बसाइँ सर्न थाले । रत्न दाइ व्यस्त देखिन थाले । त्यो दुई वर्षमा रत्न दाइले जिन्दगीमा कायापलट परिवर्तन ल्याए ।
छोरा सरकारी स्कुलमा पढ्थे, अब महँगो बोर्डिङमा पढ्न थाले । बच्चाहरूको लवाइखुवाइ, हिँडाइ, बोलाइ सारा कुरामा परिवर्तन आए । ठुलो छोराको एउटा थोत्रो साइकल थियो । हेर्दाहेर्दै उसले साढे दुई लाख रुपियाँ पर्ने पल्सर बाइक किन्यो । क्रमशः छोरैपिच्छे बाइक भयो । घर भव्यसँग निर्माण गरे । यस्तो लाग्यो उनीहरू अन्त कतैबाट यहाँ एकाएक बसाइँ सरेका हुन् । पहिलाका साथी सङ्गतीहरू सब छाडेर अब उनीहरू नयाँ र सम्पन्न परिवारमा हेलमेल बढाउन थाले । दुध बेच्थे अब उनीहरू दुध किन्न थाले ।
यो बिचमा सबैभन्दा ठुलो परिवर्तन मैले रत्ना भाउजूमा पाएँ । तिनै भाउजू हुन हिजो घाँसको डोको बोक्न नसकेर आलि आलि बिसाउँदै हिँड्ने गर्थिन् । मैले कहिले तिनले नयाँ लुगा लगाएको देखिनँ । तिनका हातकानमा सुन भन्ने धातु थिएनन् । गाईको भकारो सोहोरेको हात कहिल्यै धोएको पनि देखिनँ । पानी बोक्दाबोक्दै तिनका कम्मर छिनेका थिए । हिजै हो तिनले बोकेको ढोडको नाम्लो छिन्दा कम्मरमा बेरेको पटुकाले भारी बेरेर गोठ लगेको । भैँसीलाई कुँडो पकाउँदा नयाँ मकै घट्टमा पिँध्न गाकी अस्ति जस्तो लाग्छ तर आज तिनी हिजोकी रत्ना भाउजू होइनन् । हिजो तिनका आँखामा सेवा, सत्कार, माया, सादगीपन, भगवान्, पूजा आराधना र स्त्रीत्व गुणहरू थिए । सोमबारको व्रत बसेर रत्न दाइलाई भात कुरी बसेको देख्दा यस्तो लाग्थ्यो कि श्रीमती सबैका रत्ना भाउजू जस्तै भैदिए कति भाग्यमानी हुन्थे सबै लोग्नेमानिस । भाउजूले गाईबस्तु पाल्न छाडिन् । भाउजूले दैनिक दुई÷तीन जोर साडी फेर्न थालिन् । भाउजू ऐँचोपैँचो, मेलापात, ऋणधन, सरसापट र गरिब छिमेकीकोमा आउजाउ गर्न छाडिन् । अब गरिब छिमेकी उनलाइ भेट्न जान थाले । करिब १० तोलाको घाँटे तिलहरी हातभरी औँठी, सुनका पाउजुले भाउजू झकिझकाउ हुन थालिन् । रातोपिरो, झरिलीभरीली, सुन्दरी भइन् भाउजू । भाउजूका देब्रेपट्टिका दुई बाङ्गारा काला थिए । सुनको दाँत हालिछन् । यसरी जग्गाको दलाली कामबाट रत्न दाइले प्रशस्त कमाए र परिवारलाई अमन सुख चैन दिलाए । खुसी र आनन्द छायो त्यो घरमा ।
भाउजूमा यति धेरै परिवर्तन आए तर रत्न दाइ उही हिजोकै वेशभूषामा । उनी धनी भए तर धनी मान्छेले जस्तो देखाउने व्यवहार उनले देखाएनन् । तीन बच्चाकी आमा ती रत्ना भाउजूले एकदिन त फ्रक पो लाइछन् । म त लाजले भुतुक्कै भाको । हिजो मकैको ढोड बोक्दा बाङ्गो भाको तिनको टाउको अझैसम्म सोझिएको छैन तर आज अर्धनग्न भएर भर्खरकी केटीले जस्तो लाजै नमानी हाफ पाइन्ट पो लगाउँदै छिन् । म तीनछक परेँ । आखिर सबै कुरो पैसा नै त रेछ नि !
मैले सुनेँ लगभग ७५/८० तोला त तिनले सुन मात्रै जोडेकी छिन् रे ! रत्न दाइ बिहानदेखि बेलुकीसम्म जग्गा दलाली गर्छन् । बिचरा उनलाइ फुर्सद छैन । खाना खान पनि भ्याउँछन् कि भ्याउँदैनन् मलाई शङ्कै छ । एक दिन एउटा लक्का आर्मी जवान केटालाई जग्गा देखाउँदै थिए, “यो जग्गा बिक्री भयो भने त मेरो भागमा सिधै पाँच लाख कमिसन राम भाइ ।” कमिसन, लेखापढी, कित्ताकाट, डिल्लीबजार, नापी, नक्सा पास, भूमिसुधार, हालैदेखिको बकसपत्र आदि भन्दा उनी अरू केही कुरै गर्दैनथे हामीलाई भेट्दा । जस्तो व्यवहार उस्तै कुरा यही हो मानिसको परिचय र उसलाई बुझ्ने सङ्केत । किसानले खेतीपातीका कुरो गरे जस्तै हो नि । पेसा अनुसारका कुराले नै सभ्यताको बाटो लम्किरहेको हुन्छ ।
त्यो आर्मीको जवान भाइले जग्गा किन्न लगाएछन् अर्का व्यापारीलाई । लक्का जवान आर्मीलाई रत्ना भाउजूले भाइटिका लगाइछन् । रत्न दाइसँग प्रायः सँगै देखिन थाले ती आर्मी भाइ । मेरो सालो भनेर परिचय गराउँथे तिनले जसलाई भेट्दा पनि । खाइलाग्दो खिरिलो आर्मी केटो अघिपछि लाएर उसैको मोटरबाइकमा हिँड्न थाले रत्न दाइ । सोचे राम्रै हो । पैसा कमाए अब अलि बलियाको पनि सङ्गत गर्यो भने सुरक्षित पनि होइन्छ नि भाइ भन्थे मलाई ।
हरेक भेटमा ती रत्न दाइले छोराहरूको कुरा गर्दैनथे अब त्यो आर्मी लक्का जवानको बारेमा कुरा गर्थे । हेर्दाहेर्दै दुई छोरालाई रत्न दाइले अस्ट्रेलिया अध्ययन गर्न पठाए । अब घरमा सानो कान्छो छोरा थियो । तिनलाई पनि बोर्डस् गरिदिए । रत्ना भाउजू सबै कुराबाट फुक्का हुँदै गइन् । हेर्दाहेर्दै भाउजू त फिल्म हेर्न जानी, स्विमिङ गर्न जानी सपिङ मलतिर सपिङ गर्न जान थालिन् । हलमा धेरै नजाउन् भनेर रत्न दाइले भाउजूको लागि भनेर होमथिएटर बनाइदिएका थिए । घरमै स्विमिङ पुल पनि तयार भए । अब घरमा तिनै आर्मी भाइ, रत्न दाइ र भाउजू रहन थाले । रत्न दाइले कहिले पनि सम्पत्ति आफ्ना नाउँमा राखेनन् । सबै घरजग्गा श्रीसम्पत्ति रत्ना भाउजूका नाउँमा थिए । उनी भन्थे, “ह्या राम भाइ, मलाई त झ्याउ लाग्छ सबै सम्पत्ति रत्नाकै नाउँमा गर्देको छु हौ, यो भारी के बोकेर हिँड्नु ।”
छोराहरू अस्ट्रेलिया गएको छ महिनामा रत्न दाइ छोराहरूको न्यास्रो लाग्यो भनेर अस्ट्रेलिया गए । रत्ना भाउजूलाई अब दिनहँु ती आर्मी भाइले घुमाउन थाले । बेलुकी रातबिरात पनि ती घुम्न निस्कन्थे । टीका गरेको भाइलाई गाउँलेले शङ्का गर्ने कुरा पनि भएन । रत्न दाइले धेरै नै विश्वास गरे भाउजूलाई यो अति भयो भन्थे छिमेकी पनि । म सोच्थेँ, “आ छिमेकीको कामै अरूका कुरा काट्ने हो ।” तर एकदिन आफ्नै आँखाले देखेपछि पत्याउन कर लाग्यो । किन यी भाउजू यति बिघ्न चम्केकी हुन् भनेको कुरो यसो पो रेछ । दुई/तीन दिनसम्म पनि मूल गेटभित्रबाट चुकुल लागेको हुन्थ्यो । दुध ल्याउने तरकारी ल्याउने मान्छे पनि ढोकाबाट फर्किएर जान्थे । बोलायो भने भाउजू छतबाट बोल्थिन्, “मैले बिहानै किनेर ल्याइसकेँ रत्न दाइ हुनुहुन्न ।”
एक हप्ता बित्यो । साइँ शब्द केही छैन भाउजूको । त्यो आर्मी केटो पनि देखिन छाड्यो । सानो छोरोलाई १५ दिनअघि रत्न दाइ जाने बेलामा देखेको थिएँ । ऊ भोलिपल्ट नै स्कुल गयो बोर्डस् बस्ने भएर । म छिमेकी परेँ । चियोचर्चो, आरामबिराम भाको बेला हेर्नुपथ्र्यो । लगभग तीन रोपनीमा बनेको घर । भित्र वागबगैँचा, फूलबारी, स्विमिङ पुल सब सुनसान देखेँ । बाहिर गेटको प्वालबाट सब देखिने । हिजोअस्ति भित्रबाट ताला मारेको हुन्थ्यो । ती रत्ना भाउजू र तिनका टीका लाको भाइ गिज्जेर बस्थे तर आज बाहिर ठुलो भोटेताल्चा लाएको छ । भित्र चकमन्न । छोराहरू पढ्न विदेश गए । कान्छो छोरो बोर्डस् । रत्न दाइ पनि छोराहरू भेट्न गए । जे भए पनि रत्न दाइ असाध्य सोझा र सहयोगी थिए । माया लाएर आयो ती दाइको ।
एक हप्तापछि कान्छो छोरा घरमा आयो तर बाहिरबाट ताल्चा मारेको छ, “राम अङ्कल हाम्रो ममी खै ।” कान्छोलाई मेरै घरमा राखेँ त्यो रात । अब रत्ना भाउजूको पिर लाग्यो । कान्छो छोरा रुन थाल्यो । भाउजूको अत्तोपत्तो छैन । मोबाइलमा फोन गरेको स्विच अफ छ । बल्लतल्ल अस्ट्रेलियाको नम्बर पत्ता लगाएर रत्न दाइलाई फोन सम्पर्क गरेँ । दाइ फोनमा रुन थाले नआत्तिनु भनेँ । भोलिपल्ट राति रत्न दाइ टुप्लुक्क आइपुगे । ताला फोरेम् सबै भएर । घरमा चोटाकोठा सब हेरेम् तर दराजमा भएका सय तोला जति सुन र ४० लाख नगद केही थिएन । न कसैले हत्या गर्यो वा के भयो । सब अकमक्क प¥यौँ ।
पुलिसमा जाहेरी दियौँ । घटनाको विस्तृत बयानको मुचुल्का तयार भयो । उपत्यकाका सबै नाकामा विवरण उपलब्ध गराइयो । जग्गा र घर रत्ना भाउजूकै नाउँमा थिए । ती धनीपुर्जा पनि उठाएर लगेपछि रत्न दाइ झसङ्ग भए । कान्छो छोरा अलि बुझ्ने भइसकेको थियो, उसलाई सम्झाइयो । पढाइ बिगार्न हुन्न बाबु, आमा मामाघर गाकी हुन् भनेर सम्झाएपछि ऊ स्कुल गयो । प्रहरीले मोबाइलमा कता कता र कुन लोकेसनबाट कुरा भा’छ भनेर पत्ता लगायो । भ्वाइस मेसेज रेकर्ड सुनेपछि दुई व्यक्ति चितवन पुगेको पत्ता लाग्यो ।
रत्ना भाउजू आर्मी केटासँग पोइल गएको प्रमाणित भयो । धेरै मुद्दा चल्यो । अन्ततः लगेको पैसा र सुनबाहेक घर जग्गाको लालपुर्जा फिर्ता आयो । त्यो दुर्दान्त घटना घटेको ठिक तीन वर्षपछि मैले तिनै रत्ना भाउजूलाई एक दिन स्वयम्भूको भर्याङमा मकै पोल्दै गरेको अवस्थामा देखेँ । त्यति भरभराउँदी सुखी रत्ना भाउजूको कपाल सेतै पाकेका हिउँ जस्ता, अनुहार डढेलोले छाडेर गएको ऐँसेलुको बोट जस्तो, मलिन अनुहार, ओठभरि जुठो उस्रेको पाएँ । कस्तो नरमाइलो लाग्यो । अलि नजिक गएँ र बोलेँ, “हैन हाम्री रत्ना भाउजू होइन त ?”
“हो रामबाबु नमस्कार”
“यो के हो भाउजू के देख्दै छु म”
“भागभोग, कर्म, ऊ जुनीको श्राप बाबु । मेरा छोराहरूको धेरै याद आउँछ कहाँ छन्, के छ नानी ।”
“भाउजू तपाईंले धोका दिए’सी रत्न दाइ कान्छो छोरासहित अस्ट्रेलिया जानु’भो ।” साँझ पर्न थालेको थियो । तिनका आँखाबाट टल्किएका आँसुमा क्षितिजमाथि ढल्किँदै गएको सूर्यको विम्ब खसिरहेको थियो । अस्तु ।