नेपाली साहित्यमा आख्यान र निबन्धको फाँटमा सुपरिचित डा. तुलसी भट्टराई एक अविश्रान्त स्रष्टा र कर्मठ राजनीतिक व्यक्तित्वको नाम हो । ऊ पनि त मान्छे हो उपन्यासबाट साहित्य जगत्मा सादृश्य प्रवेश गरेका डा. भट्टराईका दर्जनौँ साहित्यिक कृति, विभिन्न पत्रपत्रिकामा सयौँ फुटकर रचना र समीक्षा प्रकाशित छन् । साहित्यिक पत्रकार पनि रहेका भट्टराईको सम्पादनमा विभिन्न पुस्तकका साथै राजनीतिक तथा साहित्यिक पत्रपत्रिका पनि प्रकाशित छन् । हिन्दीका केही कृतिलाई नेपालीमा रूपान्तर गरेर उहाँले आफ्नो सफल अनुवाद कला पनि प्रस्तुत गर्नुभएको छ ।
साझा प्रकाशन र गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिवका रूपमा प्रशासकीय भूमिकामा पनि आफ्नो दक्षता देखाएका तुलसीको मौलिक रुचिक्षेत्र भने साहित्य नै हो । मूर्तिकारले आफ्नो प्रतिभा र सिपले बाङ्गाटेढा ढुङ्गालाई आकर्षक मूर्ति बनाए झैँ जस्तो विषयलाई पनि सिर्जनात्मक बान्की दिएर पाठकलाई पढ्न लोभ्याउनु डा. भट्टराईको वैशिष्ट्य हो । यसको एउटा प्रमाण उहाँको पछिल्लो कृति चिठी–पत्र (२०८०) पनि हो ।
व्यक्ति व्यक्तिबिच आफ्ना सन्देश सम्प्रेषणको लोकप्रिय माध्यम चिठी हो । घरायसी सन्देश आदानप्रदानको माध्यम चिठी अहिले शासन, प्रशासन, कूटनीति, व्यापारलगायत धेरै क्षेत्रका कामको माध्यम बनेको छ । विशिष्ट लेखकहरूले शैक्षिक प्रयोजनमा पनि पत्रात्मक शैलीको उपयोग गरेका छन् । भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले आपूm जेलमा हुँदा छोरी इन्दिरालाई पृथ्वीको उत्पत्ति, भूगोल, विश्वको इतिहास, सभ्यता, राजनीति, संस्कृति आदिबारे शिक्षा दिने उद्देश्यले लेखेको नेहरुज् लेटर यसको एउटा राम्रो उदाहरण हो ।
चिठीले साहित्यमा पनि स्थान जमाएको छ । अङ्ग्रेजी साहित्यमा पत्रात्मक शैलीमा रचित रचनालाई इपिस्टल भनिन्छ । नेपाली साहित्यमा पनि यस्ता रचना फाट्टफुट्ट छन् । बदरीनाथ भट्टराईको पत्रात्मक निबन्ध ‘भाइलाई चिठी’ र ‘चिठी’ कविता, एवं ईश्वर बरालको बरी किन मरी ? समालोचनालाई नेपाली पत्रात्मक साहित्यका रूपमा लिन सकिन्छ । नेपालीमा यस्ता रचना अरू पनि छन् । अङ्ग्रेजी साहित्यमा भने सम्पूर्ण पत्रात्मक साहित्यलाई इपिस्टल भनेर विधागत दर्जा नै दिइएको छ ।
विवेच्य कृति चिठीपत्र बनारस र काठमाडौँमा डा. भट्टराईलाई प्राप्त चिठीहरूको सङ्कलन हो । भारतको प्राचीन नगरी बनारस तीर्थस्थल र शिक्षाको केन्द्र पनि हो । संस्कृत शिक्षाका लागि त बनारस महìवपूर्ण स्थान हो । शास्त्र हराए काशी जानू भन्ने उखान त्यसै चलेको होइन । विसं २०१७ मा राजाले प्रजातन्त्र खोसेपछि प्रजातान्त्रिक नेताहरू भारतमा निर्वासनमा थिए । त्यसैले पछिल्लो समयमा राजनीति हराए बनारस जानू भन्ने गूढार्थ पनि बनारसले दिन थाल्यो ।
कांग्रेस नेताहरू बिपी, गणेशमान आदिका साथै कम्युनिस्ट नेता पुष्पलाल पनि बनारसमा बस्थे । त्यहाँ नेपालबाट अन्य नेता र कार्यकर्ताको पनि आइजाई भइरहन्थ्यो । अध्ययनार्थ बनारसमा बसेका कृतिकार डा. भट्टराई विद्यार्थीकालमै राजनीतिमा प्रशिक्षित हुनुभयो । उहाँ बनारसकै संस्कृत विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । सरल र सहयोगी स्वभावका डा. भट्टराई नेपालबाट बनारस जाने जोकोहीका लागि पनि मित्रवत् हुनुहुन्थ्यो । मानिसहरू उहाँलाई नेपालबाट विभिन्न कामका लागि चिठी पठाउँथे । यो कृति तिनै पत्रहरूको सङ्ग्रह वा पत्राभिलेख हो । यस कृतिमा सङ्कलित ३०७ चिठीलाई राजनीतिक र साहित्यिक गरी दुई खण्डमा छुट्याइएको छ । राजनीतिक खण्डमा नेताहरूले लेखेका ४३ र साहित्यिक खण्डमा साहित्यकारहरूले लेखेका १२१ चिठी छन् । चिठीहरू व्यक्तिगत भए पनि तिनको सामाजिक र राष्ट्रिय महìवका कारण संयोजक भट्टराईले प्रकाशित गरेको हुन सक्छ ।
राजनीतिक पत्रहरूमा सन्तनेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका साथै नोना कोइराला, रामचन्द्र पौडेल, श्रीभद्र शर्मा, सिके प्रसाईं, केबी गुरुङ, भीमबहादुर तामाङ, आङ दोर्जे लामा आदिका चिठीहरू पनि प्रकाशित छन् । तीमध्ये केही चिठीमा गोप्य कामका लागि सूचना गर्ने, तरुण जस्ता क्रान्तिकारी पत्रिका पठाउने, पत्रिकाका लागि ब्लक बनाएर पठाउने कार्यका लागि आग्रह गरेको देखिन्छ । यी कार्यका साथै कार्यकर्ताका र आफ्ना सन्ततिको पढाइका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको पनि पाइन्छ । केहीमा तीर्थयात्रीका लागि र केहीमा उपचारार्थ त्यहाँ पुगेकालाई सल्लाह र सहयोगको र केहीमा आफ्नो कृति छपाएर पठाइदिन आग्रह गरेको पनि देखिन्छ । पुस्तक छपाइको आग्रह गर्नेमा सिके प्रसाईं उल्लेख्य छन्, यसमा उहाँका नौ चिठी प्रकाशित छन् ।
साहित्यिक खण्डमा केदारमान व्यथित, ईश्वर बराल, छविलाल पोख्रेल, इन्द्र राई, जगदीशशमशेर, कमल दीक्षित, कमला साङ्कृत्यायन, हृषिकेश शाह, सत्यमोहन जोशी, लीलबहादुर क्षेत्रीलगायत पुराना लेखकहरूका साथै पछिल्लो समयका साहित्यकारले लेखेका चिठी सङ्कलित देखिन्छन् । यीमध्ये केही बनारसमा र अधिकांश चाहिँ डा. भट्टराई काठमाडौँ आएपछि र साझा प्रकाशनको महाप्रबन्धकमा नियुक्तिपछि उहाँलाई प्राप्त भएका देखिन्छन् । बनारसमा प्राप्त अधिकांश पत्रहरू पुस्तकको छपाइसँग सम्बन्धित देखिन्छन् भने काठमाडौँमा प्राप्त पत्रमा साझाबाट पुस्तकको प्रकाशन, पुनर्मुद्रण, अवशिष्ट लेखकस्वको भुक्तानी आदिको आग्रह पनि उल्लिखित पाइन्छ ।
केही चिठीमा भने नेपाली भाषा र साहित्यबारे गम्भीर सवाल उठाई यसबारे आफ्ना धारणा र सुझाव पनि राखेको देखिन्छ । यस्ता चिठीमा ईश्वर बरालको चिठी महìवपूर्ण छ । बरालको चिठीमा केही अमिल्दा सहप्रयोगलाई उदाहरण दिँदै नेपाली भाषाको मौलिकता बचाउन लेखकहरूले सावधानीसाथ शब्द र सहप्रयोगको चयन गर्नुपर्ने कुराहरू उल्लेख छ । केही नेपाली लेखकहरूको अङ्ग्रेजी, हिन्दी, फारसी, उर्दु, अरबी भाषाका शब्दलाई पनि संस्कृत नियम लगाउने प्रवृत्तिमाथि कटाक्ष गरिएको सो पत्रमा भनिएको छ, ‘‘म भाषा (नेपाली भाषा ?) को व्याकरण पूर्णतः संस्कृत हुनुहुन्न भन्ने पक्षमा छु ।’’ नेपाली भाषाको मौलिक व्याकरणको पक्षमा सबल विचारसहितको सोही लेखमा अर्को ठाउँमा भनिएको छ, “तेसो हुनाले म आधारित, तिख्खरता, अनुसर्ता आदिका बारेमा नाटीखुटी गर्दिनँ (पृष्ठ १११–११४) ।” वास्तवमा तद्भव शब्द निर्माणको प्रक्रिया र बाटो नै यही हो ।
सङ्कलित एउटा चिठी पद्यात्मक पनि छ । डा. भट्टराई नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिव हुँदा पूर्णानन्द भट्टले पठाएको पद्यबन्ध चिठी (पृष्ठ ः १४७) ले बदरीनाथ भट्टराईको ‘चिठी’ कविताको झझल्को दिलाउँछ । यस कृतिका सबै चिठी एकनासका छैनन् तर केही चिठी अनौठा चाहिँ छन् । बनारसबाट पानमा हाल्ने सुपारी पठाउन आग्रह गरेको चिठी पढ्दा “....घरज्वाइँलाई खानकै धन्दा” भन्ने उखानको सम्झना हुन्छ । त्यस्तै एउटा चिठीमा साझा पुरस्कार मैले नै पाउनु पर्छ भन्ने आग्रह÷अर्घेल्याइँ पनि छ । समग्रमा विविधताको साहित्यिक परिकारका रूपमा आएको यो कृति पठनीय र सङ्ग्रहणीय पनि छ ।