• २४ वैशाख २०८१, सोमबार

सुर्तीजन्य पदार्थलाई राजस्व आम्दानीको बाटो बनाउन नहुने

blog

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला ।

काठमाडौं, चैत ३० गते । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उहाँले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने जानकारी दिनुभयो । उहाँले विश्वका धेरै देशहरुले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उहाँले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिबद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताउनु भयो ।

सुर्तीजन्य पदार्थको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरी
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले तत्काल पूर्ण प्रतिबन्धमा जान नसके पनि करको दायरा बढाउने र नियमनलाई प्रभावकारी बनाउने काममा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरुले पनि सैद्धान्तिक रुपमा यसबारेमा छलफल गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले जरुरी महत्त्वको विषय बनाएर छलफलमा लगे मात्रै पूर्ण प्रतिबन्ध गर्न सकिने बताउनुभयाे  । उहाँले यसबारेमा विद्यार्थीहरुलाई सचेतना दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीहरुले धूमपान, मद्यपानलाई प्रमुख मुद्दाका रुपमा लिएर सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।

सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताउनुभएको छ । उहाँले निगरानीमा कडाइ नगरेकै कारण पनि भेव लगायतका धूमपानजन्य सामग्रीको आयात बढिरहेको बताउनुभयो ।

उहाँले समाजमा विस्तारै परिवर्तन हुँदै गए पनि भनेजस्तो परिवर्तन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले धुम्रपान र मद्यपानमा सरकारले लिएको नीतिमा थप कडाइ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले सुर्तीजन्य वस्तुका उत्पादकलाई बचाएर राख्नु नहुने बताउनुभयो ।उहाँले सुर्तीजन्य वस्तुहरुको सेवन कम गर्न र आयात रोक्न एउटा अभियान नै सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो