• २१ वैशाख २०८१, शुक्रबार

विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

blog

काँक्रेविहार (सुर्खेत), चैत ३० गते । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क दिने भएको छ । गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।

नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ । नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैँका लागि समाधान हुनेछ । 

नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताउनुभयो । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उहाँले बताउनुभयो । “हामीले आफैंला  गरिब सोचेर समस्या भयो”, नगरप्रमुख भामले भन्नुभयो, “कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ । वधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ ।” कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ । रासस