• २१ वैशाख २०८१, शुक्रबार

विद्यार्थी खोज्दै घरदैलो

blog

बुलबुले समाचारदाता

सुर्खेत, चैत ३० गते । सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न घरदैलो अभियान थालेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न विद्यालयले घरदैलो थालेका हुन् । 

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले मङ्गलबारदेखि घरदैलो अभियान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक जगतराज जोशीका अनुसार विद्यालयको सेवा क्षेत्रभित्रका टोल टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरिएको छ । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने गरिएको छ । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधि वडाध्यक्षलगायत घरदैलोमा सहभागी छन् ।

घरदैलो अभियानका क्रममा धेरै बालबालिका विद्यालयबाहिर रहेको पाइएको विद्यालयले जनाएको छ । कतिपय बालबालिका विद्यालयबाहिर रहेको भन्दै प्रधानाध्यापक जोशीले यस पटक घरदैलोमै पुगेर अभिभावकलाई आफ्ना बालबालिका विद्यालय भर्ना गर्न अपिल गरिरहेको जानकारी दिनुभयो । विद्यालयले घरदैलो अभियान चैत ३० गतेसम्म सञ्चालन गर्ने जनाएको छ । सामुदायिक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका विषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पारेका छन् । 

चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार पारेको छ । विद्यालयले वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्नाका लागि समय तोकेको छ । ८ गतेदेखि छुटेका बालबालिकालाई लक्षित गरी घरदैलो अभियान थालिने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक लालबहादुर थापामगरले निर्धारित पाठ्यक्रम पूरा गर्नु मात्रै विद्यालयको कर्तव्य नभएको बताउनुभयो । विद्यालयले शैक्षिक कार्यक्रम बनाउँदा व्यावहारिक पक्षलाई ध्यान दिएको उहाँको भनाइ छ । 

शैक्षिक कार्यक्रम तयार गर्नुपूर्वको छलफलमा सहभागी अभिभावकले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनसमेत आग्रह गरेका छन् । पाठ्यक्रमको पढाइले मात्रै जीवनयापन गर्ने सिप विद्यार्थीले नसिक्ने भएकाले व्यावहारिक सिकाइलाई जोड्न उनीहरूले आग्रह गरेका हुन् । पश्चिम सुर्खेतकै वराहताल गाउँपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । ‘समृद्ध विद्यालय, आदर्श विद्यार्थी, सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नारासाथ पालिकाभरका विद्यालयमा एकैसाथ भर्ना अभियान गरिने जनाइएको छ । 

वराहताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायाले वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । लेकबेँसी नगरपालिका सुर्खेतले वैशाख २ देखि ७ गतेसम्म पालिकाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने छ । लेकबेँसी नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले पालिकाका सबै स्थानमा एकै पटक भर्ना अभियान सुरु गर्न लागिएको बताउनुभयो ।

आइपुग्यो पाठ्यपुस्तक

कर्णालीका जिल्लामा पाँच लाख थान पाठ्यपुस्तक पुगिसकेको र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म पाँच लाख थान पुस्तक जिल्ला जिल्लामा पुगिसकेको बताइन्छ । प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तका अनुसार यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइएको छ । अब पाँच लाख थान पुस्तक मात्र गोदाममा रहेको छ । जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक पठाउने कार्य भइरहेको बताइन्छ ।