• ९ मंसिर २०८१, आइतबार

जीर्ण भवनभित्र कहालीलाग्दो पठनपाठन

blog

लोकेन्द्र जोशी

दार्चुला, चैत ३० गते । शैल्यशिखर नगरपालिका–७, दोबाटास्थित भैरवनाथ आधारभूत विद्यालयको भवन जीर्ण हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । शैल्यशिखर, लेकम र मालिकार्जुन सीमा क्षेत्रमा रहेको यो विद्यालय २०६८ सालमा स्थापना भएको हो । स्थानीयवासीले जस्तापाताको छानो हालेर दुई कोठाको विद्यालय भवन (कच्ची टहरो) बनाए पनि पुनर्निर्माण गर्न नसक्दा पठनपाठनमा समस्या भएको छ । भवनको छानामा राखिएको जस्तापातामा खिया लागेको छ । 

भवन चुहिने भएकाले काठ कुहिन थालेको छ, भने भित्ता तथा पर्खालको ढुङ्गा निस्किने गरेको छ । कक्षाकोठामा निकै पुराना १० जोर डेस्कबेन्च राखिएका छन् । कुनैको खुट्टा भाँचिएका छन् त केही हल्लिन्छन् । स्थानीय बालबालिकाका लागि नजिकै अन्य विद्यालय नभएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवी मिश्रलगायत समाजसेवीको पहलमा कक्षा तीनसम्मको पठनपाठन गर्न सो विद्यालय स्थापना गरिएको हो । 

विद्यालय भवन जीर्ण भएकाले विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य छन् । विद्यार्थी पनि जीर्ण भवनभित्र बसेर पढ्न डराउने गरेका छन् । वर्षामा पानी चुहिने र हिउँदमा चिसो हुने समस्या रहेको छ । दुई घण्टा हिँडेर प्राथमिक तहको शिक्षा पार गर्नुभएका अध्यक्ष मिश्रले भन्नुभयो, “घर फर्किन त्यत्ति नै समय लाग्थ्यो । त्यसरी हिँड्नु परेपछि प्राथमिक शिक्षासम्म मात्र पढ्न पाएको हुँ । दिनदिनै चार घण्टा हिँड्न गाह्रो हुन्थ्यो, पढ्नै पर्छ भन्ने थिएन ।”

“छोराछोरीले विद्यालय जानुको सट्टा घरमा काम सघाउँदा आमाबाबु पनि खुसी हुन्थे,” ६३ वर्षीय मिश्रले भन्नुभयो, “स्कुल छाडेपछि गाईवस्तु चराउन र घरको काम गर्न थालेँ, त्यसमै दिनगए । मेरो जस्तो दुःख आजका बालबालिकाले नभोगून् भनेर विद्यालय स्थापना गरेका हौँ ।”

गाउँले बालबालिकालाई शिक्षाको ज्योति दिन जग्गादान गरेर विद्यालय स्थापना गरिएको भनाइ उहाँको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुमति दिए पनि भवनलगायतका पूर्वाधारमा पर्याप्त सहयोग नआएको भनाइ उहाँको छ । आर्थिक स्रोत नभएको यस विद्यालयको अवस्था दयनीय भएकाले तत्कालीन बोहरीगाउँ गाविसले १६ हजार रुपियाँ सहयोग गरेको थियो । सोही रकमबाट सुरुमा दुई जना महिला शिक्षक राखिएको थियो । 

उहाँहरूले केही महिना तलबबिनै काम गर्नुभयो, विद्यालयको विगत स्मरण गराउँदै उहाँले थप्नुभयो, “गाउँमा सामुदायिक वनको कोष बनाइएको थियो । पछि त्यही कोषबाट शिक्षकलाई मासिक दुई हजार रुपियाँ तलब दिन थालियो ।” 

विद्यालय स्थापनाको छ वर्षपछि नगरपालिकाले शिक्षकलाई तलब दिन सुरु गरेको छ । यस विद्यालयमा शैल्यशिखर–७, दोबाटासँगै लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको बालबालिका पढ्न आउने गर्छन् । हावाहुरीले विद्यालयको छानो उडाएपछि विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छन् । उक्त भवन मर्मतसम्भारका लागि स्थानीयवासीले वडा कार्यालय, नगरपालिका कार्यालय र आफ्नो क्षेत्रका सांसदलाई धेरै पटक गुहारे पनि बजेट भने नपाएको गुनासो स्थानीयवासीको छ ।

सरकारको बेवास्ताका कारण विद्यार्थीको सङ्ख्या घटेर ३५ जनामा झरेको छ । भवनको माथि छानो छैन, बस्नलाई डेस्क, बेन्च छैन । भुइँमा चटाइ बिछ्याएर बस्नुपर्ने अवस्थामा रहेको शिक्षक बताउँछन् । यहाँ तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुई जनालाई नगरपालिकाले मासिक आठ हजार रुपियाँका दरले तलब दिने गरेको छ । 

उक्त विद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि स्थानीयले तिनै तहको सरकारलाई हारगुहार गरिरहेका छन् । विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष पुष्पराज जोशीको भनाइ छ ।