• १२ साउन २०८१, शनिबार

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

blog

काठमाडौँ, चैत ३० गते । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।  

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ । 

नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठुलो सम्भावनाबारे ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिक नियोगहरू, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञलगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणको प्रदर्शनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी सङ्कलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा सात वटा प्राविधिक सत्र तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने छ । 

हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा र युवा पुस्तालाई हाइड्रोसम्बन्धी कार्यमा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने छन् । यी दुवै विधाका प्रतिस्पर्धाका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी ‍र्‍यालीसमेत आयोजना गरिएको छ । 

स्काई वाक टावर कमलादीबाट सुरु हुने उक्त र्‍याली विद्युत् प्राधिकरण, सिंहदरबार, शीतल निवास, बालुवाटारलगायतका मुख्य मुख्य स्थानहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना हुने स्थल भृकुटीमण्डपमा समापन हुने छ । 

‍र्‍यालीमा विद्युत्बाट चल्ने दुईपाङ्ग्रे, तीनपाङ्ग्रे, चारपाङ्ग्रे र छपाङ्ग्रे इभीहरूलाई निःशुल्क रूपमा सहभागी गराइने छ । यसका अलावा काठमाडौँ विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन कार र इभी ट्याक्टर पनि एक्स्पोको आकर्षण बन्ने इप्पानको अपेक्षा छ ।