• २ असार २०८१, आइतबार

सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २९ गते । गुल्मीको सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका-१३ र गुल्मीदरबार गाउँपालिका-३ को सिमानास्थित भुवाने पार्क राम्चे डाँडा तथा रेसुङ्गाको काखमा एक करोड बढी लागतमा निर्माण भएको सीताराम मन्दिरमा श्रीराम कथा, हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने बताइएको छ ।

ऐतिहासिक मन्दिरको संरक्षण र राष्ट्रको कल्याण गर्दै भगवानप्रति मनुष्यको विश्वाससहित भगवानको पूजा गर्ने उद्देश्यले यहाँ पहिलो पटक आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको सीताराम मन्दिर निर्माणकर्ता एवम् गुल्मीदरबार-३ का स्थानीय सुब्बा बस्नेतले बताउनुभयो । सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना तथा लोककल्याणकारी सेवा प्रतिष्ठान एवम् राम जानकी बालिका आश्रम देवघाटको सह-आयोजनामा महायज्ञ हुने भएको उहाँले बताउनुभयो ।

उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यवत्ति बाल्न नसकेका विपन्न परिवारलाई महायज्ञमा नि:शुल्क पूजाको व्यवस्था गरिएको बस्नेतले बताउनुभयो । प्रमुख वाचकका रूपमा नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरी र उप(वाचक राधिका लोककल्याणकारी रहनुभएको यस महायज्ञमा शोभाकलश यात्रा, रामकथा पाठपारायण, राम आरती, कलात्मक भजन, विद्वान तथा सन्तमहात्माबाट दिव्य कथा प्रवचन, हनुमान हवनात्मक अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकी प्रस्तुत गरिनेछ । महायज्ञको लागि सम्पूर्ण तयारी पूरा गरिएको भन्दै सीताराम मन्दिर निर्माणकर्ता बस्नेतले महायज्ञमा प्रदान गरिएको सहयोग रकमबाट ५र१० प्रतिशत रकम विपन्नलाई सहयोग र बाँकी रकम रेसुङ्गा क्षेत्रको धार्मिक विकासमा खर्च गरिने बताउनुभयो ।

गत वर्षको राम नवमीको अवसरमा स्वामी विवेकानन्दले यस सीताराम मन्दिरको उद्घाटन गर्नुभएको थियो । आफ्नै डिजाइनमा आकर्षक मन्दिर बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । त्रेतायुगमा रेसुङ्गामा भगवान् श्रीराम जाने बेलाका छोडेका पाइला सडक निर्माणको क्रममा फुटालिएको हुँदा आफूले सोही ठाउँमा मन्दिर निर्माण गरेको बस्नेतले बताउनुभयो । यस मन्दिरमा प्रत्येक महायज्ञ गर्ने उहाँको भनाइ छ ।