• १३ साउन २०८१, आइतबार

टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन

blog

टीकापुर (कैलाली), चैत २९ गते । कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ । टीकापुर नगरपालिकामा सञ्चालित कार्यक्रमबारे पालिका र सङ्घसंस्थाबिच भएको छलफलले कार्यको नक्साङ्कन गरेको हो । 

यस क्षेत्रमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा दर्जनबढी सङ्घसंस्थाले काम गरिरहेका छन् ।  पालिकामा सेवा दिइरहेको संस्थाले कुन क्षेत्रमा काम गरिरहेको छ भन्ने जानकारी सरोकारवाला सबैलाई हुनुपर्ने टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो । सामाजिक विकास समिति संयोजकसमेत रहनुभएका वडाध्यक्ष चौधरीले सङ्घसंस्थाका कामबारे जानकारी भएमा कार्ययोजना बनाउन सहज हुने बताउनुभयो । 

एकै वडामा धेरै संस्था कार्यरत रहेकाले आगामी दिनमा सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ । “टीकापुरमा साबिकका दुई गाविस धनसिंहपुर र नारायणपुर गाभिएका छन् । गाभिएका वडामा विगतदेखि नै धेरै संस्था कार्यरत छन्”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “कतिपय वडामा एउटै उद्देश्यका धेरै संस्था कार्यरत छन् । नक्साङ्कन भएमा कार्यक्रम नभएका वडामा पनि कार्यक्रम गर्नुपर्छ भनी योजना बनाउन सकिन्छ ।” कार्यक्रममा महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नक्साङ्कनले अब पालिकामा बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरणमा काम गर्न सहज हुने बताउनुभयो ।

“हरेक संस्थाको कामबारे नक्साङ्कन भएमा समन्वय गर्न, उद्धार तथा राहतमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “पालिका तथा हरेक वडामा सङ्घसंस्थाका काम र सम्पर्क व्यक्तिबारे जानकारी राखिनेछ ।” सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक तिलक चौधरीले सङ्घसंस्थाले गर्ने कार्यक्रमबारे जानकारी भएमा समुदायमा सेवा प्रवाहमा पहुँच र सुसूचित गर्न, सहजीकरण गर्न, दोहोरोपन न्यूनीकरणमा सघाउने भएकाले नक्साङ्कन गर्न थालिएको बताउनुभयो । 

गुड नेभर्स इन्टरनेशनलका रञ्जित चौधरीले टीकापुर पालिकाभित्र रहेका विकास साझेदार सङ्घसंस्थाको पहिचानमा सहयोग हुने भएकाले आउँदा दिनमा दिगोरुपमा कार्यक्रम कसरी गर्ने र प्रभावकारी कसरी बनाउन सकिन्छ भनी सघाउने बताउनुभयो । सेवक नेपाल कैलालीका प्रेम चौधरीले नक्साङ्कन गर्दा एकअर्का सङ्घसंस्था र सेवा प्रदायकका कामबारे जानकारी हुने भएकाले सहज हुने बताउनुभयो । कार्यक्रममा सङ्घसंस्थाका प्रतिनिधि र पालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता थियो । रासस