• २४ वैशाख २०८१, सोमबार

भेरी अस्पतालमा थालेसिमिया पीडित बालिकाको जटिल शल्यक्रिया

blog

थालेसिमिया पीडित बालिकाको जटिल शल्यक्रिया गर्दै चिकित्सकको टोली । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २९ गते । 
पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ ।

सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट पीडित बर्दियाकी एक बालिकाको स्पलेनोरेनल शन्ट नामक शल्यक्रिया पहिलो पटक सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका अनुसार बारबर्दिया नगरपालिका–११ वेलभार बर्दियाकी ११ वर्षीया बालिकाको चैत १८ गते शल्यक्रिया गरिएकोमा २५ गते उनलाई डिस्चार्ज गरिएको थियो ।

अस्पतालका ग्यास्ट्रो सर्जन डा.कृष्णमोहन अधिकारीको नेतृत्वमा गरिएको सो जटिल शल्यक्रिया गर्ने टोलीमा खजुरा क्यान्सर अस्पतालका कार्डियो थोरासिस भास्कुलर सर्जन डा.नीरज भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, सर्जनहरू डा.सन्तोष श्रीपाइली र डा.कमल हसन अन्सारी, डा.विधान पौडेल लगायत नर्सिङ्ग स्टाफहरूको सहभागिता रहेको थियो ।

ग्यास्ट्रो सर्जन डा. अधिकारीका अनुसार थालेसिमिया भएको बिरामीलाई रगत चढाइरहँदा फियो सुन्निएर फियो फाल्नुपर्ने अवस्था आउन सक्छ । यो शल्यक्रियामा फियो निकालेर त्यहाँको रक्तनलीलाई लिएर मिर्गौलाको रक्तनलीमा जोडिन्छ ।

सामान्य मानिसमा आन्द्रामा हुने रगतको सञ्चार कलेजोसम्म पुग्नुपर्ने हुन्छ तर यो समस्या भएको बिरामीमा कलेजो सुन्निएको र आन्द्रामा भएको रगतको नशाहरू गुजल्टिएर बसेको कारणले गर्दा रगत कलेजोसम्म पुग्न पाएको हुँदैन । यसकारण फियोको रक्तनलीलाई मिर्गौलाको रक्तनलीमा जोडेर कलेजोसम्म रगत सञ्चार सहज बनाउने गरिन्छ । यो शल्यक्रियालाई जटिल शल्यक्रिया मानिने डा. अधिकारीले बताउनुभयो ।

ती बालिकालाई तीन वर्षको उमेरमा थालेसिमिया पुष्टि भएको थियो । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले ती बालिकालाई थालेसिमिया भएको पुष्टि गर्नुभएको थियो । वंशाणुगत यो रोग थारु समुदायमा धेरै देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

शरीरमा रगतको मात्रा कम भएर बिरामीको स्वास्थ्य अवस्थालाई जटिल पार्ने यो रोगबाट प्रभावित ती बालिकाले प्रत्येक महिना रगत चढाउँदै आएकी थिइन् ।

भेरी अस्पतालका वरिष्ठ ग्यास्ट्रो सर्जन डा.अधिकारीका अनुसार यस प्रकारको शल्यक्रिया काठमाडौँका एक दुई ठाउँमा हुने गरेको भए पनि काठमाडौँ बाहिर सम्भवत नेपालगन्जमै पहिलो पटक गरिएको हो ।