• २१ वैशाख २०८१, शुक्रबार

नगरपालिकाको सेवाप्रति सेवाग्राही सन्तुष्ट

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत २८ गते ।  रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राही सर्वेक्षण गर्न थालेको छ । नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रूपमा नतिजा सार्वजनिकसमेत गर्न थालेको हो । सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई सुशासन मापनको औजारका रूपमा लिने गरिएको छ । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार गत साता गरिएको सर्वेक्षणमा सेवाग्राहीले जनाएको प्रतिक्रियाका आधारमा अत्यन्त राम्रो प्रतिक्रिया दिने सेवाग्राहीको सङ्ख्या २६ प्रतिशत छ । त्यसै गरी राम्रो भएको प्रतिक्रिया दिने सेवाग्राहीको सङ्ख्या ७० प्रतिशत छ । ठिकै भएको प्रतिक्रिया दिनेको सङ्ख्या चार प्रतिशत छ । सेवा प्रवाह नराम्रो र अत्यन्त नराम्रो भएको भनी प्रतिक्रिया दिनेको सङ्ख्या शून्य प्रतिशत रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

नगर कार्यपालिका र कर्मचारीको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको हो । कार्यालयबाट प्रवाह हुने सेवामा सेवाग्राहीको सन्तुष्टिको अवस्थाबारे कार्यक्रममा जानकारी गराइएको थियो । सेवाप्रतिको प्रतिक्रियाका लागि पाँच वटा अवस्था जनाउन पाउने व्यवस्था मिलाइएको छ । अत्यन्त राम्रो, राम्रो, ठिकै, नराम्रो र अत्यन्त नराम्रो भनी प्रतिक्रिया जनाउन पाइने छ । लैङ्गिक आधारमा सेवा लिने पुरुषको सङ्ख्या ८३ प्रतिशत छ । महिलाको सङ्ख्या १७ प्रतिशत छ । सेवा प्रवाह हुँदा लाग्ने समयको बारेमा समेत सर्वेक्षण गर्ने गरिएको जनाइएको छ । सर्वेक्षणमा सबैभन्दा कम चार मिनेटदेखि सबैभन्दा बढी तीन घण्टा २८ मिनेट समय लागेको पाइएको छ । प्राप्त सर्वेक्षणमा सबैभन्दा कम समयमा महिला तथा बालबालिका उपशाखाबाट सेवा प्रवाह भएको पाइएको छ । 

सेवाग्राहीको प्रतिक्रियाका लागि सेवापश्चात् टोकन खसाल्ने व्यवस्था मिलाइएको छ । प्रत्येक दिन बेलुका टोकनमार्फत दिएको प्रतिक्रियाको अभिलेख राख्ने व्यवस्था मिलाइको ढकालले जानकारी दिनुभयो । उहाँले दैनिक अभिलेखका आधारमा साप्ताहिक, मासिक र वार्षिक विवरण तयार गरिने बताउनुभयो । सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणले सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्ष पहिचान हुने र यसले सेवाग्राहीमैत्री सेवाका लागि टेवा पु¥याउने विश्वास नगरपालिकाले लिएको छ ।