• २१ वैशाख २०८१, शुक्रबार

महिलालाई सेनिटरी प्याड निर्माण तालिम

blog

स्थानीय स्रोतबाट सेनिटरी प्याड निर्माण गर्दै छात्रा र महिलाहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २७ गते ।
दुर्गमका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । छात्रा तथा महिलाले आफुसँग भएको कपडाबाट सेनिटरी प्याड निर्माण गरेर प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको हो ।

नाम्खा गाउँपालिका– ४ की छिरिङ लामाले स्थानीय सामग्रीबाट निर्माण गर्न सकिने सेनिटरी प्याड निर्माणसम्बन्धी तालिम लिएको बताउनुभयो । यसअघि महिनावारी हुँदा प्याडको प्रयोग नगर्ने लामाले अब महिनावारी भएको समयमा आफैँले प्याड निर्माण गरेर प्रयोग गर्न सक्ने भएको बताउनुभयो ।

महिनावारी भएको समयमा महिलाहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएको बताउनुहुँदै उहाँले यो तालिमले सहज बनाएको बताउनुभयो ।

नाम्खा गाउँपालिका सुसा परियोजनाका फिल्ड संयोजक दन्तबहादुर शाहीले महिलावारीका बेला प्रयोग गर्नका लागि आवश्यक पर्ने सेनिटरी प्याड निर्माणसम्बन्धी छात्रा, महिना र गुम्वाका आनीलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । महिलाहरुसँग हुने कपडाबाट प्याड तयार गरी महिनावारी भएको समयमा प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

तालिममा महाबौद माध्यामिक विद्यालयमा १० जना छात्रा, २० जना स्थानीय महिला र २५ जना गुम्वाका आनी गरी ५५ जनालाई तालिम प्रदान गरिएको हो । यसका लागि स्वास्थ्यकर्मीले प्याड निर्माणमा सहजीकरण गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरुले सहजै प्याड तयार गरेर प्रयोग गर्ने संयोजक शाहीले बताउनुभयो । साथै सहभागीहरुले आफ्नो छिमेकका महिलाहरुलाई समेत प्याड निर्माणको सीप सिकाउने प्रतिबद्धता जनाएका थिए ।