• २० वैशाख २०८१, बिहिबार

भारतका सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमामा निरन्तर निरीक्षण

blog

नेपाल–भारत सीमानामा अनुगमन गर्दै भारत बहराईचका डिएम र एसपीको टोली । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २६ गते ।
भारतको उत्तरप्रदेश राज्यमा वैशाखमा हुने लोकसभाको निर्वाचनका लागि सीमावर्ती भारतीय जिल्लाका सुरक्षा प्रमुखहरुले सिमानाको सुरक्षा अवस्थाबारे विभिन्न नाकामा पुगेर निरन्तर निरीक्षण गरिरहेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बाँकेको सीमाना नजिकका भारतीय कस्बा र गाउँहरुमा रहेका विभिन्न मतदान केन्द्रमा पुगेर भारत बहराइचका प्रमुख जिल्ला अधिकारी (डिएम) र प्रहरी प्रमुख एसपी लगायतको टोलीले स्थलगत निरीक्षण सुरु गरेको छ ।

बाँकेको सीमावर्ती छिमेकी भारतीय जिल्ला बहराइचका डिएम मोनिका रानी र प्रहरी प्रमुख एसपी बृन्दा शुक्लाको नेतृत्वमा रहेको सुरक्षा प्रमुखहरुको टोलीले सीमाना नजिकका मतदान केन्द्रको अवस्था बुझ्नुका साथै दसगजामा पुगेर नाकाको सुरक्षा अवस्था बारे नेपाली सुरक्षाकर्मीहरुसँग पनि जानकारी लिएको छ ।

सीमावर्ती क्षेत्रहरुको निरक्षणका क्रममा भारतीय सुरक्षा अधिकारीहरूले नेपाल तथा भारतीय सीमास्थित सुरक्षाकर्मीहरूसँग सुरक्षा व्यवस्था तथा सुरक्षा गतिविधिका बारेमा सोधपुछ गरेर सल्लाह सुझाव दिनुभएको भारत रुपैडिहाका पत्रकार सन्तोष शुक्लाले बताउनुभयो ।

उहाँले भारतमा नजिकिँदो लोकसभा निर्वाचनलाई मध्यनजर गरेर भारतीय सुरक्षा अधिकारीहरूले सीमानाका विभिन्न क्षेत्रमा पुगेर सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको बताउनुभयो ।

सो क्रममा डिएम रानी र एसपी शुक्लाले भारतमा लागू भएको निर्वाचन आचारसंहिता पूर्णरूपमा नाकामा पालना गराउन भारतीय सुरक्षा अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको जनाइएको छ ।

नेपालतर्फबाट अवैध रूपमा मदिरा भित्रिन सक्ने, चुनाव प्रभावित पार्ने गतिविधि हुन सक्ने, अपराधी र असामाजिक तत्वको आवतजावत हुनसक्ने तर्फ सचेत रहन उहाँहरूले भारतीय सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिनुभएको रुपैडिहाका पत्रकार शुक्लाले बताउनुभयो ।

यसअघि गत साता नेपाल भारत नाका नजिक नेपालगन्जमा सम्पन्न भएको नेपाल र भारतका वरिष्ठ सुरक्षा अधिकारीहरुको समन्वय बैठकमा पनि दुबै देशका सुरक्षा अधिकारीले निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न विभिन्न निर्णय र सहमति गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।