• २४ वैशाख २०८१, सोमबार

सबै धर्मको सम्मानले राष्ट्रिय एकता बलियो हुने

blog

रोजा इफतार कार्यक्रममा सहभागि हुनु भएका प्रदेश प्रमुख मियाँ लगायत । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २६ गते ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुनुका साथै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।

मुस्लिम इत्तेहाद संगठन बाँकेले रमजानको बेला आइतबार साँझ नेपालगन्जमा आयोजना गरेको बृहत्त रोजा इफ्तार कार्यक्रममा रोजा इफ्तार गर्दै प्रदेश प्रमुख मियाँले सबै धर्मले सदभाव, भाईचारा र राष्ट्रिय एकताको शिक्षा र सन्देश दिएको बताउनुभयो ।

उहाँले नेपालको संविधानले धर्म र आस्था राख्न पाउने अधिकार हरेक नागरिकलाई दिएको उल्लेख गर्नुहुँदै आफ्नो धर्म र आस्थाको अनुसरण गर्दै अरुको धर्म र आस्थाको सम्मान गर्नु पर्ने जिकिर गर्नुभयो ।

प्रदेश प्रमुख मियाँले भन्नुभयो, ‘‘गलत प्रवृत्तीलाई धर्मसँग जोड्नु हुँदैन । धार्मिक अतिवादीको न त धर्म हुन्छ न जात नै हुन्छ, अतिवादीहरु न हिन्दू हुन सक्छन् न त मुस्लिम नै हुन सक्छन् ।’’

एक अर्काको धर्म, संस्कृति, संस्कार र परम्पराको सम्मान गरेकोले नै नेपाल शान्त र विशाल भएको धारणा मियाँले राख्नु भयो । विभिन्न धर्ममा आस्था राखे पनि एकले अर्कालाई माया गर्नुनै बास्तविक धर्म भएको उहाँको भनाइ थियो ।

मियाँले थप्नुभयो, ‘‘मान्छेलाई भड्काउन यहाँ हिन्दू अतिवादी र मुस्लिम अतिवादी भन्छन् । अतिवादी र आतङ्कवादीको कुनै धर्म नै हुँदैन ।’’

रोजा इफ्तार कार्यक्रममा बाँकेका विभिन्न स्थानबाट आएका करिव दुई हजार इस्लाम धर्मावलम्वीले सामुहिक इफ्तार गरेको मुस्लिम इत्तेहाद संगठनका नेता मोहम्मद हारुनले बताउनुभयो ।

उहाँले धार्मिक गुरुले साँझ ठीक ६ बजेर ४१ मिनेटमा अजान गरेपछि इस्लाम धर्मावलम्वीले सामूहिक इफ्तार गरेको बताउनुभयो ।

सो इफ्तार कार्यक्रममा मुस्लिम र हिन्दु दुबै समुदायको उल्लेख्य सहभागिता रहेको र यसले सदभाव र भाइचारा बढाउन ठुलो सहयोग गरेको मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष मोहम्मद सफिक नद्दाफले बताउनुभयो ।

इफतार कार्यक्रममा सहभागि हुन नेपालगन्ज आउनु भएका सुदूरपश्चि प्रदेश प्रमुख मियाँलाई नेपालगन्जका मुस्लिमहरुले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष मोहम्मद सफिक नद्दाफको अध्यक्षतामा भएको रोजा इफ्तारमा नेकपा (एमाले)का केन्द्रीय सदस्य पशुपति दयाल मिश्रा, एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, माओवादी नेतृ कस्मीरा खातुन, एमाले नेता रबि बर्मा, सकिल खानलगायतले रमजान र रोजाको शुभ कामना दिनु भएको थियो ।