• १२ साउन २०८१, शनिबार

२० तस्बिरमा बालाजु ‘बाइसधारा मेला’

blog

काठमाडौं, वैशाख ३ गते । कोरोनाको लहरले गत दुई वर्षदेखि रोकिएको बाइसधारा मेला यस वर्ष धुमधामले लागेको छ । चैत शुक्लपूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा शनिबारको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।


यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । यस पूर्णिमामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गर्दा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै, यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।


नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ ।

बाइसधारा उद्यानका कर्मचारी उत्तम अधिकारीले अहिले बढ्दो जनघनत्वका कारण बाइसधाराको पानीको मुल सक्दै गएकोे बताउनुभयो । अधिकारीले हाल  बाइसधारामा बोरिङ्गबाट पानी व्यवस्थापन गरिँदै आएको पनि बताउनुभयो ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।