काठमाडौँ, चैत २४ गते । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासले १४ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय महासचिव प्रेम थुलुङले आश्रमले समाजका आर्थिकरुपले विपन्न बालबालिकालाई शिक्षा तथा स्वास्थ्यको पहुँचमा राखेर देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालनमा रहेको बताउनुभयो ।
आश्रमले निःशुल्क शिक्षा, आवास, भोजनआदिको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “चारजना विद्यार्थीबाट सुरु गरेको छात्रावास आज हामी ११ जिल्लामा बिस्तार भएको छ । छात्रावासमा विद्यार्थी सङ्ख्या बढाएर यस शैक्षिकसत्रमा पाँच सय पुर्याउने लक्ष्य छ ।” छात्रावासबाहेक कल्याण आश्रमका झापा, मोरङ, तथा चितवनका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा संस्कार केन्द्र सञ्चालित रहेको उहाँले बताउनुभयो ।
उहाँले दैनिक दुई हजारभन्दा बढी बालबालिकाले लाभ लिइरहेको बताउनुभयो । त्यस अवसरमा रामायण हिन्दी टेलिशृङ्खलामा माता सीताको अभिनय गर्नुहुने अभिनेत्री दीपिका चिखलियाको समेत उपस्थिति थियो । कार्यक्रममा आश्रमका बालबालिकाले नृत्य र गीत प्रस्तुत गरेका थिए । रासस